बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल स्वर्गाआश्रम र बेलढुंगा जाने पदमार्गको शनिबार स्थानीयले मर्मत तथा सरसफाई गरेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि भकिम्लीका स्थानीयले मर्मत तथा सरसफाई गरेका हुन् ।

छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जाको सिमानामा अवस्थित बेलढुंगासम्म मर्मत गरिएको जयन्ती मावि भकिम्लीका शिक्षक भोज बहादुर जिसीले बेनीअनलाइनलाई बताए । ‘घुम्न आउनेलाई आवतजावतमा समस्या हुने स्थानमा मर्मत गरिएको छ । यहाँ पक्की पदमार्गको आवश्यकता छ’ जिसीले भने ।

उनले यसबर्ष गुराँस फुल्ने भएकाले पनि म्याग्दीका साथै विभिन्न स्थानबाट घुम्न आउनेलाई लक्षित गरी आगामी दिनमा पनि मर्मत गरिने बताए । भकिम्लीको डोले र भुकभुकेबाट स्वर्गाआश्रम र बेलढुंगा जाने मार्गलाई बजेट समेत माग गरिएको स्थानीयको भनाई छ । बेलढुंगाबाट म्याग्दीका अधिकांस भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिन्छ ।

चट्टानबाट अवलोकन गर्न सकिन्छ ।पदमार्गको मर्मतमा जनप्रतिनिधि सहित स्थानीय यूवा र आमा समुहका आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । प्राचिनकालमा तपस्या गर्ने गएका सप्त ऋषीहरुले तपस्या गर्ने क्रममा ठुला पत्थर समेत रहेको स्वर्गाआश्रम देखी बेलढुंगासम्म २ सयबर्ष अगाडीसम्म तपस्या गर्ने स्थानहरु अहिले पनि सजिलै देख्न सकिन्छ ।

जिल्लामा विभिन्न प्रजातीका गुराँस फुल्ने स्वर्गाआश्रम आसपासका क्षेत्रमा पक्की पदमार्ग, खानेपानी, बनभोजका लागि समेत आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको वडा सदस्य रत्न जिसीले बताए । हरेक बर्षको बैशाख १ गते स्वार्गाआश्रममा हुने पुजामा समेत विभिन्न जिल्लाबाट आउनेलाई सहज आवतजावत र बासस्थानको ब्यवस्था गर्ने बताए । भकिम्लीका स्थानीयले गाउँबाट संकलन गरेको आर्थिकबाट स्वर्गााआश्रममा मन्दिर र केही पूर्वाधार निर्माण गरेका छन् ।