चेतनशिल सहकारीले म्याग्दीको दिदीबहिनीको भ्रमण

म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थामा शनिबार कास्कीको लेखनाथ महानगरपालिकाको चेतनशिल महिला बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक र सेयर सदस्यले भ्रमण गरेका छन् ।

भ्रमणमा आएको टोलीलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा महिलाहरुको ब्यवस्थापनमा सञ्चालन भएको सहकारी बीचको सम्बन्ध बलियो बनाउँदै अनुभव आदान प्रदान गर्ने भ्रमणमा आएको टोलीले जनाएको थियो ।

भ्रमणको अवसरमा सहकारी मार्फत आर्थिक अवस्था कमजोर भएका महिलालाई पुरुष सरह महिलालाई आत्मनिर्भर बनाउन सहुलियतमा ऋण, समान ज्यालाको वकालत गर्ने महिलालाई सम्मान, घरेलु हिंसामा परेका महिलालाई कानुनी प्रक्रियामा जान आर्थिक सहयोग, सेयर सदस्यलाई सुत्केरी कोसेली, हिंसा पिडित महिला कोष, पेन्सन तथा लखपति बचत योजना, मुठ्ठीदान एवं रक्तदान, सदस्य संरक्षण सम्मान जस्ता सामाजिक कार्यलाई आफ्नो सहकारीमा समेत प्रयोग गर्ने चेतनशिल महिला बहुउदेश्यीय सहकारीकी अध्यक्ष विन्दु सुबेदीले बताउनुभयो ।

‘महिलाको लगानीमा पनि उत्कृष्ट सहकारी सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश पाइयो । आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरेका छौ’ सुबेदीले भन्नुभयो । उहाँले निक्षेप संकलन र कर्जा प्रवाहमा निकै उत्कृष्ट रहेको सहकारी मार्फत नियमित सञ्चालन भइरहेको मुठीदान अभियानलाई पहिलो चरणमा प्रयोग गर्ने बताउनुभयो ।

भ्रमणको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघमा आयोजित अन्र्तरक्रिया कार्यक्रममा दिदी बहिनी सहकारीकी अध्यक्ष ज्योती लामिछानेले सहकारी मार्फत आर्थिक उन्नतीका साथै विभिन्न सामाजिक कार्यलाई प्राथमिकता दिइएको बताउँदै दृष्टिविहिन, जेष्ठ नागरिक, बेसहरा बालबालिका, बौद्धिक अपाङ्ग बालबालिका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगाएत विभिन्न क्षेत्रमा सहकारीमा आवद्ध रहेका सेयर सदस्य, सञ्चालक र कर्मचारी मार्फत सहयोग गरिएको बताउनुभयो ।

भ्रमणमा चेतनशिल महिला सहकारीबाट ८० जनाको सहभागिता रहेको थियो । भ्रमण टोलीको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता ज्योती लामिछाने पौडेल, स्वागत उपाध्यक्ष विष्णु गौतम सापकोटा र सञ्चालन सचिव सुगम श्रेष्ठले गर्नुभएको थियो ।