म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पर्यटकीय स्थलमा विद्युत् आपूर्तिका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल भएको छ । पचास किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टर्वाइनको परीक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताउनुभयो ।

विद्युत्गृह बनाएपछि फागुन पहिलो हप्तादेखि परियोजना नियमित सञ्चालनमा आउने उहाँले बताउनुयभो । गत पुस दोस्रो साता सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टर्वाइन लगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयबासीको पहलमा चार वर्षअघि देखि परियोजना निर्माण शुरु भएको थियो ।

सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा एक  करोड ३४ लाख रुपैया जुटाएको पुनले बताउनुभयो । आर्थिक स्रोत जुटाउने क्रम जारी छ ।  एशियाली विकास बैङ्कले ७५ लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट १२ लाख, जिल्ला समन्वय समितिबाट दश लाख अनुदान प्राप्त भएको पुनले बताउनुभयो । स्थानीय स्तरमा बिस लाख सहयोग जुटाइएको र एनएमबि बैङ्कबाट बिस लाख रुपैया ऋण लिइएको छ ।

रु एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा रु दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१७२ मा तत्कालीन जिल्ला समन्वय समितिले रु १० लाख अनुदान उपलब्ध गराएको थियो ।

भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताउनुभयो ।मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पु¥याउन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । रासस