तातोपानीका सबै कुण्ड र धारालाई ब्यवस्थित गरिने

0

बेनी नगरपालिका–४ तातोपानीका विभिन्न स्थानमा भेटिएका तातोपानीको मुहान र धारालाई संरक्षणमा स्थानीय जुटेका छन् । प्राकृतिक उपचारस्थलको रुपमा स्वदेश तथा विदेशमा चर्चित तातोपानीमा मुख्य कुण्डका अतिरिक्त म्याग्दी नदीको किनारमा थप तीन वटा तातोपानीका महुनाहरू भेटिएपनि त्यसलाई समेत नदी कटानबाट जोगाउन तटबन्ध लगाएतका पूर्वाधार निर्माणमा स्थानीयले सक्रियता देखाएका छन् ।

‘तातोपानी गाउँको पहिचान हो,हामीले यहाँको स्रोतलाई संरक्षणलाई प्राथमिकता दिएका छौ’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले भने ।उनले छिमेकी मंगला गाउँपालिकाको बरंजातर्फ समेत तातोपानीका प्रसस्तै मुहान रहेको बताए ।मुख्य कुण्डको नजिकै पिउने पानीको मुल रहेको छ ।

उपल्लो तातोपानी बजार भन्दा तल स्नानका लागि मनतातो पानीको मुहानका साथै उपल्लो र तल्लो तातोपानी बजारको बिचमा पर्ने स्वामीको रुखमुनी म्याग्दी नदी किनारमा पनि अर्को तातोपानीको मुहान फेला परेको छ ।बजार तल खोलाको किनारमा मनतातो तातोपानीको स्रोत भेटिएपछि स्थानीयले संरक्षण गरेर तीनवटा धारा बनाएका छन् ।

म्याग्दी खोला कटान र गहिराईसंगै उक्त स्थान वरपर फरक, फरक बिशेषता र तातोपानी भएका मुहानहरू भेटिन थालेपछि स्थानीयबासी समेत उत्साहित छन् । खोला नजिक रहेकाले बर्खाको समयमा मुहान पुरिने भएकाले पनि बजारबासीले आफ्नो प्रयासमा सुरू गरेको नदी नियन्त्रणका लागि तटबन्धन बनाइरहेको अवस्थामा बेनी नगरपालिकाबाट समेत थप सहयोग प्राप्त भएपछि माथिल्ला र तल्लो तातोपानी बजारलाई संरक्षणको क्रममा खोलामा प्रयोगविहिन अवस्थामा रहेका तातोपानीलाई समेत १२ महिना सञ्चालनको वातावरण बनाउने बताए ।

उपल्लो तातोपानी बजार तलको तातोपानीमा धारा र स्नान गृह निर्माण गर्ने योजना बनाइएको छ ।‘तातोपानी गाउँलाई बरदान सावित भएको छ ।यहाँको आम्दानीले गाउँका अति आवश्यक क्षेत्रमा सहयोग भइरहेको छ’स्थानीय तातोपानी यूवा क्लवका पूर्व अध्यक्ष कुमार केसीले भने ।

उनले कुण्डको आम्दानीले सामुदायिक विद्यालय सञ्चालनका साथै विभिन्न क्षेत्रमा सहयोग भइरहेको बताए ।नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउन थालेपछि साक राष्ट्र र एशियाली मुलुकमा तातोपानीको ब्यापक प्रचारप्रसार भइरहेको बताए । जमिन मुनिबाट बिरेनुनको गन्ध सहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोला लगायत विभिन्न रोगबाट ग्रसित बर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका छन्।

कुण्डको आम्दानी बेनी नगरपालिकालाई समेत उपलब्ध गराउने गरिएको छ । जिल्लामा बेनी नगरपालिका बाहेक धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा समेत गरी १० भन्दा धेरै तातोपानीको मुहान फेला परेको छ । विभिन्न जिल्लामा रहेका तातोपानीका मुहानको संरक्षण जुटेकाले समेत उत्कृष्ट ब्यवस्थापन भन्दै भ्रमणका लागि आउने गरेका छन् ।