एक घर एक रोजगार

महाशिला गाउँपालिकाले हरेक घरलाई रोजगार दिने महत्त्वाकांक्षी योजना ल्याएको छ । गाउँ कार्यपालिकाले स्थानीय तहको अधिकार प्रयोग गर्दै चालु वर्षदेखि नै प्रत्येक घरबाट एक/एक जना युवालाई विभिन्न १७ विषयमा तालिम दिएर स्वयंसेवक उत्पादन गर्न लागेको हो ।

यसका लागि गाउँपालिकाले चालु वर्षका लागि ९५ लाख बजेट विनियोजन गरेको जनाएको छ । गाउँपालिका प्रमुख राजु शर्मा पौडेलले शनिबार पत्रकार सम्मेलन गर्दै सिकर्मी, डकर्मी, कृषि, पशु, स्वास्थ्य, शिक्षा, विद्युत, सहकारी, बैंक र सडक लगायतका १७ विषयमा प्रशिक्षित गरेर गाउँपालिकाभर स्वयंसेवक परिचालन गरिने जनाए । गापाभित्र बसोबास गर्ने १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई स्वयंसेवकका रूपमा नियुक्ति दिने तयारी छ ।

सरकारी नोकरीमा आबद्ध एकाघरका युवा बाहेकका सबै परिवारलाई यो कार्यक्रममा समावेश गर्ने तयारी गाउँपालिकाको छ । ‘एक घर एक रोजगार भनेकै बेरोजगार परिवारलाई समावेश गर्ने कार्यक्रम हो,’ उनले भने, ‘रोजगारी पाएका परिवारमा आर्थिक समस्या हुँदैन ।
नभएका परिवारका युवालाई मासिक ६ हजार दिनेगरि कार्यक्रम ल्याएका छौं । उनीहरूलाई मासिक ६ हजार र दैनिक २५ रुपैयाँको खाजा खर्च दिने योजना छ ।’स्वयंसेवकलाई दुई महिना सीपमुलक र व्यवसायिक तालिम दिने तयारी छ । यसका लागि सिकर्मी, डकर्मी, प्लम्विङ, बाटो मर्मत, स्वास्थ्य, खेलकुद, नृत्य, गायन, नाटक, होटल व्यवस्थापन, शिक्षा, कृषि, परम्परागत बाँस र काठका सामग्री बनाउने तालिम सञ्चालन गर्न सूचना पनि जारी गरिएको छ ।
प्रारम्भिक चरणमा छनोट भएका युवालाई एक महिना कार्यमूलक दक्षता परीक्षण गरि परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत पिताम्बर शर्माले बताए । ‘एक घर एक रोजगारी भन्ने नारा नै भएको छ,’ उनले भने, ‘अब श्रमका लागि गाउँपालिकाभित्र बाहिरबाट कामदार मगाउन पर्दैन ।’ सडक मर्मत कार्यकर्ता मात्रै २ सय ५० जना परिचालन गर्ने तयारी गरेको छ ।
अन्य गाउँ र नगरपालिकाले निकै बढी रकम खर्चेर सडक मर्मत गर्ने तयारी गरेका बेला महाशिलाले डोजर खरिद र त्यसको सञ्चालनमा बिदेसिने रकम गाउँमै रोक्न यो योजना ल्याइएको दाबी गरेको छ । ‘सडकमा खन्याएको सबै पैसा विदेश पठाउन हामी चाहन्नौं,’ प्रमुख पौडेलले भने, ‘अढाई सय युवाले रोजगारी पाउँदा त्यो पैसा गाउँमै रोकियो । पेसालाई संस्थागत गरेपछि कसैले काम गर्न लाज मान्ने अवस्था पनि आउँदैन ।’ महाशिला विकास स्वयंसेवक कार्यविधि २०७४ जारी गरिसकेको छ ।
उनीहरूका लागि पाँच लाखको दुर्घटना बिमा समेत गरिएको गाउँपालिकाले जनाएको छ । ‘हामी हरेक स्वयंसेवकप्रति उचित संरक्षणको योजना सहित अघि बढेका छौं,’ स्वयंसेवक व्यवस्थापन समितिका उपसंयोजक जीवनविक्रम उचैठुकरीले भने, ‘काम सुरु गरिसकेपछि त्यसको दिगोपनाबारे नसोचे बीचैमा रोकिन सक्छ ।’ गाउँपालिकाभित्र बन्ने सार्वजनिक भवन, विद्यालय, बाटो, विद्युत र शिक्षा लगायत सबै विकासनिर्माणमा स्थानीय जनशक्ति मात्रै परिचालन गर्नेगरि अघि बढेको हो ।
गाउँपालिकाले व्यवसायिक किसानलाई टनेल, साना सिंचाई, नि:शुल्क बीउबिजनको व्यवस्था गर्ने योजना अघि सारेको छ । अलैंची, लप्सी, मौरीपालन, च्याउखेती, वाख्रापालन, भैंसीपालन र पाडापाडी संरक्षणजस्ता कृषिसँग सम्वन्धित कार्यक्रमलाई अनुदानको व्यवस्था गरिएको छ । सबै वडाका अव्यवस्थित काठेपोल विस्थापित गरि ४ सय फलामे पोल फेर्न बजेट बिनियोजन गरेको छ । ५ वटा वडामा एक घर एक धारा पुर्‍याउने योजना छ । ६ वटा वडा रहेको महाशिलाका सबै वडामा वडा कार्यालयको भवन वनाउने योजना कार्यपालिकाले पारित गरेको छ । ekantipur.com