तातोपानीले बढायो बस्ती

0
268

जिल्लाका आधा दर्जन स्थानमा प्राकृतिक तातोपानीका मूलहरू छन । म्याग्दी नदी किनारको बेनी नगरपालिका–३ मा पर्ने सिंगा–तातोपानी र कालीगण्डकी किनारमा अवस्थित अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ–तातोपानी मुहान यहाँ चर्चित छन् ।

सिंगा–तातोपानी म्याग्दी र बागलुङको अधिकांश पश्चिमी भाग, रुकुम र डोल्पासम्मको व्यापार गर्ने पुरानो पदमार्गमा पर्छ । भुरुङ–तातोपानी जिल्लाको उत्तरी भेग जोड्ने मात्र होइन मुस्ताङ हुँदै तिब्बतसम्मको भोट–मधेस नुन व्यापारको पुरानो बाटोमा पर्छ । नदी किनारामा मूल फुटेर खेर गइरहेका प्राकृतिक तातोपानीले यहाँका केही बस्तीलाई नयाँ सहरको रूपमा विकसित गरिरहेका छन् ।

७० वर्ष अघिसम्म सिंगा तातोपानी क्षेत्रमा एउटा पनि घर थिएनन् । म्याग्दी खोला बगरमा तातोपानीको मूल निक्लन्थ्यो, बग्थ्यो । कसैलाई वास्ता थिएन । तातोपानीको तल्लो खण्ड सिंगाका थकालीको धानखेत थियो भने माथिल्लो खण्डमा अधिकारीहरू र अन्य केही ब्राम्हण समुदायको धानखेत थियो । २०२५ सालसम्म यहाँ १० वटा साना झुपडीघर बनेका थिए । वरपरका थामडाँडा, बरंजा, सिंगा, अर्मन, बाबियाचौर, कुहुँ र डडुवा आदि बस्ती थिए । तातोपानीको खेतका फाँटमा हिउँदमा फागुपूर्णिमा मेला लाग्थ्यो । मेलामा थकालीबाहेक बागलुङबाट समेत नेवारहरू पसल थाप्न आउँथे । त्यही मेलाको मेसोमा तातोपानीमा आएका हुन् प्रवुद्धमान र वीरेन्द्रमान शाक्यका परिवार ।
‘हामी २६ सालमा तातोपानी आउँदा १२ घर थियौं । हिउँदमा खोला किनाराको तातोपानीमा कुवा बनाई नुहाउँथ्यौं । विस्तारै हिउँदमा अस्थायी पोखरी खन्ने र वरपरका गाउँबाट मान्छे आएर तातोपानीमा डुब्न थालेका हुन्,’ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने, ‘हाडजोर्नी र पेटका विरामीलाई फाइदा भएपछि उनीहरूको वचन विज्ञापनले मान्छेहरू तातोपानी डुब्न आउने क्रम बढदै आयो, ठाउँले पनि नाम कमायो ।’
तातोपानी क्षेत्रमा चारवटा ओडार छन् । सुरुमा तातोपानी डुब्न आउने विरामीहरू यिनै ओडारमा बास बस्ने गर्थे । ओडारमा नअट्नेहरू बाहिर धान खेतमा भकारीको गोठ बनाएर रात गुजार्थे । २०३२ सालतिर पुलाका यामबहादुर बानियाँले तातोपानीको आधाभन्दा बढी फाँट ओगटेका प्रेमप्रसाद गौचनको खेत किनेपछि मात्र यहाँ बस्ती विकास सुरु भएको हो ।
अहिले तातोपानी बजारमा करिव दुई सयवटा घर छन् । नालीसहितको सडक, सञ्चार स्वास्थ्य केन्द्र, १२ कक्षासम्मको अध्यापन हुने सामुदायिक र निजी तहका विद्यालयको सुविधा पुगेको छ । घरहरू आधुनिक डिजाइनमा बनाउने होडबाजी नै छ । प्यानमा दर्ता भएका २० वटा सुविधा सम्पन्न होटल छन । हरेक घरमा होमस्टे शैलीका होटल छन । जग्गाको मुल्य आकासिएको छ । हातको तीन लाख रुपैयाँमा घडेरी किनबेच हुन्छ ।
२०५२ सालदेखि तातोपानी व्यवस्थापन समितिमार्फत मुहानलाई संरक्षण गरेर स्थायी पोखरी बनाइएको छ । यहाँको तातोपानीको पोखरीमा अहिले दैनिक २ हजार जना हाराहारी मान्छेले डुबेर स्वास्थ्य लाभ लिने गरेका छन् । समितिले तातोपानीबाट वार्षिक ८९ लाख आम्दानी गर्छ ।
‘यही तातोपानीले सामुदायिक विद्यालयमा शिक्षक राख्न र भौतिक पूर्वाधार बनाउन सहयोग पुगेको छ,’ स्थानीय सृजना केसीले भनिन्, ‘तातोपानीमा आश्रित परिवारको संख्या धेरै छ । धेरै परिवारलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिएको छ ।’
उत्तर मुस्ताङ प्रवेश गर्ने नाकामा पर्छ संसारको सर्वाधिक गहिरो मानिएको अन्ध गल्छी । यही अन्धगल्छीमा अवस्थित छ भुरुङ तातोपानी । भुरुङ तातोपानी ऐतिहासिक बस्ती हो । प्राचीनकालमा भारत–भोट (तिब्बत) व्यापारको मुख्य मार्ग ‘साल्ट ट्ेरकिङ रुट’ मा पर्ने कालीगण्डकी नदी बगर नुन ब्यापारी थकालीको हिउँदे थालोको रूपमा उपयोग गरेको पाइन्छ ।
परापूर्वकालदेखि नै मुस्ताङी थकालीले भुरुङ तातोपानीमा अस्थायी पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन आउने गर्थे । भुरुङ तातोपानी वरपरका दाना, नारच्याङ, भुरुङ, दोवा, पाउद्वार, शिख, घार र घराम्दी समेतका वस्तीको बीचमा ‘घाट’ परेकाले सामान किनबेचका लागि हिउँदमा यहाँ आउने र तातोपानीमा डुब्ने चलन परम्परादेखि नै थियो ।
‘मेरी हजुरआमाले भनेअनुसार उहाँका पनि थाकखोलाबाट हिउँदमा जाडो फाल्न तातोपानीमा आउने र ८/१० दिन तातोपानीमा डुबेर फर्कने गर्नुहुन्थ्यो रे,’ भुरुङ तातोपानीका पुराना बासिन्दा भुवन गौचनले भने, ‘पछिसम्म वरपरका मान्छेहरू पनि यहाँ डुब्न आउँथे । तर, ३५/४० सालतिरबाट टुरिस्ट बढेपछि लोकलले भन्दा टुरिस्टले नै डुब्न प्राथमिकता पाउन थालेका हुन् ।’ copyright ekantipur.com