लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परीक्षण

0

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीको पूर्व प्राथमिक तहका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परीक्षण गरिएको छ ।विद्यालयले आयोजना गरेको शिविरमा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुको दाँत, आँखा, कान, नाक, घाँटीलगायत स्वास्थ्य परीक्षण गरिएको थियो ।

नर्सरीदेखि कक्षा २ सम्मका २८० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताए । ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौ । विद्यालयभित्र पनि स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्छ’ सुबेदीले भने । बेनी अस्पतालका डाक्टर विराट शर्मा, सञ्जिवनी हस्पिटल प्रालिका एचए दिपेश पौडेल, आँखा उपचार केन्द्रका प्राविधिक र विद्यालयको स्वास्थ्य युनिटका प्रमुख अनिता गौतमले बालबालिकाको स्वास्थ्य चेकजाँच गरेका थिए ।

शिविरमा ८० प्रतिशत बालबालिकामा दाँतको समस्या देखिएको डाक्टर शर्माले बताए । बालबालिकाले बढी मात्रामा गुलियो र जङ्क फुड खानेकुराहरु खाँदा दाँत र स्वास्थ्यमा असर पर्ने भएकाले अभिभावकले सावधानी अपनाउनुपर्ने डा. शर्माले सुझाव दिएका छन् । स्वास्थ्यकर्मीहरुको टोलीलाई, प्रिन्सिपल खुमबहादुर केसीले स्वागत र विदाई गरेका थिए । बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गरी उनीहरुलाई स्वास्थप्रति सचेत बनाउन र उपचार सेवामा पहुँच बढाउन शिविरको आयोजना गरिएको विद्यालयले जनाएको छ ।