सदरमुकाम बेनीमा यूवापुस्ताका निकै लोकप्रिय मानिने कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा माघ २५ गते हुने कन्सर्टका बारेमा आयोजित पत्रकार सम्मेलनमा साहित्यको क्षेत्रमा समेत विद्यार्थीलाई आर्कषित गर्ने उद्देश्यले आयोजना गरिएको कन्सर्टको तयारी तिब्र पारिएको सहायक क्याम्पस प्रमुख रेखा कौशल रेग्मीले बताईन्। ‘विद्यार्थीको समेत रुची धेरै देखियो ।

शैक्षिक क्षेत्रलाई नै सघाउने भएकाले पनि कन्सर्ट गरिएको हो’ उनले भनिन् । नेपालका साथै विश्वका विभिन्न देशमा पुगेर कन्सर्ट गर्ने पराजुलीले आफ्नो बाँसुरी बादक सहितको टोलीको उपस्थितीमा कविता बाचन गर्ने गरेका छन् । नेपाली भाषा र साहित्यमा कविताको विधाबाट पुर्याएको योगदानको समेत उच्च कदर गदैं म्याग्दी साहित्यिक समाजले समेत आर्थिक, भौतिक र नैतिक सहयोगको प्रतिबद्धता जनाएको छ ।

समाजका अध्यक्ष घायल श्री ले बहुचर्चित कविता कृति ‘सगरमाथाको गहिराई’ संग्रह लगाएत दर्जनौ कविताले यूवापुस्तामा साहित्यको क्षेत्रमा आर्कषण बढ्ने बताए । उनका अनुसार म्याग्दी जिल्लामा पछिल्लो समय नियमित रुपमा साहित्यिक गतिविधि हुने गरेकाले पनि विभिन्न विधामा उत्कृष्ट सष्टाहरुको उपस्थितिमा साहित्यिक गतिविधिलाई निरन्तरता दिने गरेको बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ म्याग्दीमा सभापति तारानाथ शर्मा लगाएतको उपस्थिती रहेको थियो ।