सहकारीको स्थापना दिवसमा मुठ्ठीदान सहयोग

0

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार सातौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले उत्तरी पर्वतको जलजला गाउँपालिका–३ बेनीमा बस्दै आएका रोशन कार्कीलाई मुठ्ठीदान सहयोग गरी दिवस मनाएको हो ।

अभिभावकविहिन तथा आर्थिक रुपमा विपन्न कार्कीलाई अध्ययनका लागि मुठ्ठीदानबाट नगद र खाद्यान्न सहयोग हस्तान्तरण गरिएको सहकारीले जनाएको छ । उनलाई चामल ८ पाथी, दाल, चिनी र नुन तीनतीन केजी, खानेतेल ३ लिटर, चियापत्ती २ पोकालगायत दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराइएको छ ।

म्याग्दी बालगृहमा बसेर साविकको एसएलसी परीक्षा उत्तीर्ण गरी हाल न्यु वेष्ट प्वाइन्टमा अध्ययनरत रोशनलाई सहकारीका अध्यक्ष ज्योती लामिछाने, उपाध्यक्ष विष्णु गौतम सापकोटा, सचिव सुगम श्रेष्ठ, कोषाध्यक्ष जगतदेवी बानियाँ लगायतले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष ज्योती लामिछानेले सहकारीको सामाजिक कार्य अन्तर्गत स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरिएको बताइन् । उनले सहकारीमार्फत विपन्न र सिमान्तकृत वर्गलाई आर्थिक तथा खाद्यान्न लगायतका सहयोगहरु गर्दै आइरहेको बताएकी छिन् ।