बेनी नगरपालिका–९ मा रहेको गलेश्वर माध्यमिक विद्यालय तोरीपानीमा बिहीबार आयोडिनयुक्त नुनको प्रयोगसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमार्फत समुदायस्तरमा आयोडिन नुनको सही प्रयोगबारे जनचेतना फैलाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङको सहयोगमा सञ्चालित कार्यक्रमको अवसरमा विद्यालयको कक्षा ४ देखि ६ सम्म अध्ययनरत १० जना विद्यार्थीहरुलाई आयोडिन नुनको लोगो अङ्कित झोला वितरण गरिएको छ । यसैगरी विद्यालयको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई आयोडिनयुक्त नुनको प्रयोग एवं फाइदाका बारेमा अभिमुखीकरण गरिएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका कार्यालय प्रमुख मनोज श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दैनिक जीवनमा प्रयोग गरिने खानेनुनमा आयोडिन भए नभएकोबारे परीक्षण समेत गरिएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद सुवेदीको अध्यक्षता, शिक्षक गणेश बानियाँको सञ्चालन र इन्जिनियर उज्ज्वल रिजालको स्वागतमा सम्पन्न कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अधिकृत बिक्रेता मोतिलाल पौडेल, विद्यार्थीद्वय सङ्गीता चोखाल र आशिष रामदामले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमको अवसरमा बेनपा ९ को घतान स्वास्थ्यचौकीमा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयोडिन नुनको प्रयोगका विषयमा सहजीकरण गरिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरेको छ ।