म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार माविस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा क्रियाशिल रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । ‘समृद्ध नेपाल निर्माणमा विद्यार्थीको अपरिहार्यता’ शीर्षकमा भएको प्रतियोगितामा जिल्लास्थित विभिन्न ११ वटा विद्यालयका २१ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा न्यु होराईजन आवासीय मावि पर्वत बेनीका रेजिना सुवेदी प्रथम, बेनी सामुदायिक माविका अमृत आचार्य द्वितीय, न्यु वेस्ट पोइन्ट कलेजका दिक्षा जिसी तृतीय, माउण्ट एभरेष्टका सुरङ्गना बोगटी र लिटिल गार्डेन एकेडेमीका सुदिप्ता पौडेलले सान्त्वना स्थान हासिल गरेका छन् । उनीहरुलाई क्रमशः नगद दुईहजार, एकहजार पाँचसय, एकहजार र पाँचसय रुपैयाँ तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिता जुरेसका अध्यक्ष रेमिता तामाङको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका उपसभापति अमर बॉनियाँको प्रमुख आतिथ्य, जुरेस सदस्य असनबी शर्माको स्वागत र शिक्षक नायक हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आतिथि बॉनियाँ, विशिष्ट अतिथि विव्यस अध्यक्ष नारायणबहादुर कार्की, सर्कलका संरक्षक एवं विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले मन्तव्य राखेका थिए ।

विज्ञापन