महारानी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड

0

म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कस्थित रहेको महारानी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । महारानी क्षेत्र विकास समितिको शुक्रबार सम्पन्न तेस्रो अधिवेशन तथा भवन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

महारानी क्षेत्र परिसरमा बनाइएको नवनिर्मित एकतले भवनको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले महारानी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्र बनाउनुपर्ने बताए । उनले म्याग्दी जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको आवश्यक पुनर्निर्माण, संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गरेर विकास गर्नुपर्ने बताउँदै ऐतिहासिक क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले नयाँ समितिले मन्दिरको आवश्यक प्रचारप्रसारका साथै दीगो विकास गरी अगाडि बढ्नुपर्ने बताउँदै नयाँ समितिमा महिलाहरुको ३३ प्रतिशत सहभागिता हुनुपर्ने बताइन् । अर्का प्रदेशसभा सदस्य विनोद केसीले म्याग्दी जिल्ला धार्मिक क्षेत्रको मुख्य नाकाको रुपमा रहेको हुँदा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए ।

पूर्व सांसद नवराज शर्मा र म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले महारानी क्षेत्र सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको हुँदा यसको विकास गरी जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाइलाई लम्ब्याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं पूर्व सभासद गोविन्दप्रसाद पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका सञ्चालिका रिना दिदी र महारानी क्षेत्र विकास समितिका सदस्य कृष्णबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

अधिवेशनको उद्घाटनसत्रमा महारानी क्षेत्र विकास समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले संस्थागत, सचिव माधवप्रसाद रेग्मीले प्रगति र कोषाध्यक्ष यामबहादुर शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा स्वागत, सचिव रेग्मीको सञ्चालन र उपाध्यक्ष नैनकुमार श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

यसैबीच शुक्रबारै सम्पन्न महारानी क्षेत्र विकास समितिको तेस्रो अधिवेशनले अमृतदेवी बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीकुमारी जोशी, सचिवमा उमा रिजाल शर्मा र कोषाध्यक्षमा टिकाकुमारी रेग्मी चयन भएको निर्वाचन आयोगका अध्यक्ष अजयमिलन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कार्यसमिति सदस्यहरुमा प्रमोद श्रेष्ठ, दलप्रसाद श्रेष्ठ, कुलप्रसाद श्रेष्ठ, याम शाक्य, क्षेत्रबहादुर हमाल, ईश्वरीप्रसाद शाक्य, चन्द्रबहादुर खत्री, सुबेदार गुनबहादुर थापा, बिक्रम श्रेष्ठ र सुनिता मल्ल निर्वाचित भएका छन् ।
समापन कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष, सचिव र कोषाध्यक्षले नवनिर्वाचित पदाधिकारीलाई तालाचाबी, माइन्युटलगायत सामाग्री हस्तान्तरण गरेका थिए । सोही अवसरमा नयाँ कार्यसमितिलाई बधाई ज्ञापन समेत गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बानियाँले प्रतिबद्धता मन्तव्य राखेकी थिइन् ।