मुस्ताङको चिसो सहँदै गिट्टी कुट्छन् मजदुर

मुस्ताङमा बिहान र बेलुकीको समय चिसो सिरेटो चलिरहन्छ, त्यसमाथि शरीरै हल्लाउनेगरि एकतमासले उत्तरी हावाहुरी चलिरहन्छ। हिउँदको याम मौसम यहाँ यस्तै बेजोडको हावा चल्ने र मौसमी तापक्रम समेत माईनस १० डिग्री सेल्सीयसमा पुग्ने भएकाले सबै गतिबिधि रोकिने गर्छ।

यहाँ लाग्ने हावाहुरी र चिसो मौसमका कारण जनजीवन समेत कष्ठकर बन्ने गर्छ। उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका आधाजसो स्थानीय मानिस जिल्ला बाहिरएका छन्।

हिउँद याममा अत्याधिक जाडो बढ्ने र सबै पेशा व्यवसायीको अफ सिजन हुने भएकाले यहाँका स्थानीयवासी वर्षेनी अन्य पेशा व्यवसाय गर्न र पारिवारिक घुमफिरमा बेशी झर्ने मुस्ताङको परम्परा पुरानो होईन।

मध्यान्ह यहाँको मौसम केही घमिलो भए पनि बिहान र बेलुकीको चिसो सिरेटोले मुटुनै काँप्ने गरि आङ सिरिङ सिरिङ गराई दिन्छ। कहिले त दिउँसै सहि नसक्नु प्रकारको हावा चलेर घरका सबै भ्याल ढोका बन्द गरि बस्नुपर्ने अवस्था छ।

धारामा पानी भर्न पुग्यो धाराका टुटी समेत बरफ जमेर जाम भईदिन्छ। यहाँका कतिपय होटल तथा घरहरू पुस अगावै बन्दै भएका छन् भने भएकामा पनि एकाध मान्छे बाहेक कोही देखिन्नन्। यातायातका साधन समेत चिसो मौसमले प्रभावित हुँदा गुड्न पाएका छैनन्। जिल्लाको सम्पूर्ण गतिबिधि शून्य भएकाले कतिपय कार्यालय खुल्ला गरिए पनि कर्मचारीबिहिन बनेको छ।  सेवाग्राही नआएपछि कर्मचारी समेत कोठा भित्रै हिटर तापेर बस्नुपर्ने हिउँदयामले सृजना गरेको अवस्था हो।

लामो समयदेखि मुस्ताङमा ज्याला मजदुरी गरेर खाने एक बर्गलाई भने मुस्ताङको हिउँदे चिसोले रत्तिभर पिरोलिएको छैन। यही हुर्केका र बढेका अनि सम्पूर्ण जायजेथा यही भएका स्थानीय समुदाय चिसो छल्न अन्यत्र गए पनि जिल्ला बाहिरबाट ज्याला मजदुरी गर्न मुस्ताङ भित्रिएका गैर मुस्ताङे मजदुरलाई भने चिसोयाममा पनि गिट्टी कुटेरै जिविका चलाउनु पर्ने बाध्यता छ।

जोमसोम नजिकै ठूलो पहाडको फेदमुनी बसेर चिसो सहदै गिट्टी कुट्दै हिउँदका उराठलाग्दा दिनहरु काट्नुपर्ने उनीहरुको बिवसतानै हो। जिल्ला पुरै सुनसान बनेको छ तर उनीहरु यहाँकै हावा पचाएर काम गर्नुपर्ने उनीहरुको दैनिकी बनेको छ।

म्याग्दी खिवाङकी लिलमति रसाईलीलाई मुस्ताङको चिसो सहेर काम गर्नुपर्ने बाध्यता बनेको छ। अन्य समय खेतबारी लगायतका प्रसस्तै काम पाईने र कामबाट पनि मनग्ये पैसा कमाईने भए पनि हिउँदयामको मौसम उनलाई बुझिलो बनेको हो। ‘जिल्लाका सबै मानिस धमाधम बेशी झरेका छन्। हामीलाई पनि घरतीर जाने रहर त थियो,घरतीर जाउ कुनै काम पाईदैन,’ लिलमतिले सुनाईन्, ‘बालबच्चा सानै छन् ।पढाउनु पर्‍यो अनि घर व्यवहार पनि चलाउनै पर्‍यो हजुर।’

शरीरमा न्यानो कपडा ओढेकी अनि मुखमा हावा छेक्न माक्स लगाई एकतमासले गिट्टी कुट्दै गरेकी लिलमतिले गिट्टी कुटेर बस्दा समय गएको पत्तै नपाईने र दुई चार पैसाको पनि जोहो हुने भएकाले हावाको पाप सहेरै भए पनि काम गरेर बसेको बताइन्।

पहाडको फेदमा ज्यानै हल्लाउने बेजोडको हावा चल्छ। लिलमतिका लागि घरखर्च टार्न उनको लागि चिसो हावा फिक्का बनेको छ।

जोडो समय बिद्यालय सबै पुस अगावै बन्द हुने भएकाले उनले आफ्ना स—साना केटाकेटीलाई समेत गिटी कुट्न उपस्थित गराएकी छिन्। ‘हिउँदको समय गिट्टी कुट्ने काम बाहेक अरु केही पाईन्न। परिवारमा ऋणनै ऋणको आर्थिक बोझ परेको छ,’ सुस्केरा हाल्दै लिलमति भन्छिन् ‘आधा महिना मरिहत्ते गर्दा एक ट्याक्टर गिट्टी जम्मा हुन्छ। जम्मा पारिएको एक ट्याक्टर गिट्टीको ५ हजारमा बिक्रि गर्ने गरेका छौ। दिनभरी कुटेको ३ सय रुपैयाको हिसाबले बिहान र बेलुकीको जोहो गर्नुपर्ने बाध्यता छ।’

बिगत १० वर्षअघिदेखि मुस्ताङमा ज्याला मजदुरी गर्दे आएकी बाग्लुङ मिसी घर भएकी अर्की मजदुर हुन् मनिसा बुढामगर। उनले हिउँदको पुरै ३ महिना गिट्टी कुटेरै परिवार धानिरहेको बताईन्। ‘सबै जना बेशी झर्छन् यहाँ कोही हुदैनन्। गाउँतीर जाउँ समस्या नै समस्या छ। गिट्टी कुटेर केही राहत मिल्छकि भनेर जाडो सहेर गिट्टी कुटेर बसेकी हुँ,’ बुढामगरले भनीन्, ‘चिसो मौसम भए पनि काम त गर्ने पर्‍यो हजुर, समस्या नपरे यस्तो जाडो सहेर कस्ले काम गथ्र्यो र।’

उनले घरको आर्थिक अवस्था कमजोर भएकाले चिसोको परवाह नगरी गिट्टी कुट्नु परेको दुःखेसो सनाईन्।

जिल्लामा म्याग्दी, बाग्लुङ, धादिङ, रूकुम र रोल्पादेखि आएका मजदुरहरुले मुस्ताङमा खेति किसान लगायत अन्य कामहरुमा सहभागि हुने गरेका छन्। जोमसोम बजारदेखि नजिकैको ठूलो पहाडको खोचमा गिट्टी कुट्दै आएका उनीहरुले वर्षेनी हिउँदयाम घर नफर्की गिट्टी कुटेर हिउँदको समय कटाउने गरेका हुन्।

चिसो मौसमका कारण जिल्लाका बिद्यालय मंसिर अगावै बन्द हुने भएकाले तिनै मजदुरका बालबालिका समेत गिट्टी कुट्न अभिभावकसँगै जान्छन्।  यसरी उनीहरुले जम्मा गरेको गिट्टी खरिद गर्न जिल्लाका निर्माण व्यवसायी लगायत अन्य ब्यक्तिहरु गिट्टी कुट्ने स्थलमै पुग्ने गरेको गिट्टी कुट्न पुगेका मजदुरहरुको भनाई छ ।