म्याग्दी जेसीजको हालै सम्पन्न १९औं साधारणसभा तथा शाखा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको शुक्रबार पदस्थापना भएको छ । जेसीज सचिवालयमा आयोजित कार्यक्रममा वर्ष २०१८ का लागि नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारीको संयुक्तरुपमा पदस्थापना गरिएको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायणकुमार बरालले नवनिर्वाचित अध्यक्ष कमल विश्वकर्मालाई माला लगाइदिनुका साथै पिन हस्तान्तरण र सपथग्रहण गराएका थिएभने अध्यक्ष विश्वकर्माले शाखाका अन्य पदाधिकारीहरुलाई शपथ खुवाएका थिए ।

कार्यक्रमको अवसरमा निवर्तमान अध्यक्ष बरालले आफ्नो कार्यकाल सफल पार्न सहयोग पु¥याउने शाखाका पदाधिकारीलाई मायाको चिनोले सम्मान गरेका थिए ।कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य विनोद केसीले म्याग्दी जेसीले सामाजिक गतिविधिसँगै युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गरेकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, बागलुङ जेसीजका अध्यक्ष अम्बिका बस्नेत र पर्वतका अध्यक्ष राजन जोशीले मन्तव्य राखेका थिए ।

दुई चरणमा सम्पन्न कार्यक्रमको नारायणकुमार बराल र कमल विश्वकर्माको अध्यक्षता, खम थापा, नवराज पौडेल र विरेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जेसीजका पदाधिकारी लगायतले सहभागिता जनाएका थिए ।