गलेश्वरमा शिवरात्री पर्वको तयारी सुरु

0
305

बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित गलेश्वरधाममा शिवरात्री पर्वको तयारी सुरु भएको छ । आउँदो फागुन १ गतेका दिन महाशिवरात्री पर्वको अवसर पारेर गलेश्वर मन्दिरमा आयोजित शिवरात्री विशेष कार्यक्रमलाई तीव्र पारिएको हो ।

शिवरात्री पर्वको अवसरमा धार्मिक तीर्थस्थल गलेश्वरधाममा हालै प्रतिष्ठित शङ्करभगवान्को नटराज अवतार मूर्तिको प्राणप्रतिष्ठा गरिने गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । विश्वकै अलौकिक अद्वितीय धार्मिक तीर्थस्थल गलेश्वरधाममा स्वयं प्रकट ज्योतिर्लिङ्ग, १०८ शिवलिङ्ग, देवालय, शिवालयहरुमा जल, बेलपत्र, सुनचाँदीका बेलपत्रहरु, बस्त्र, आभूषण, बसाह, रोट आदी समर्पण, दर्शनपुनज, यज्ञयज्ञादी र रातमा अखण्ड माहाबत्ती बालिने छ ।

शिवालयमा दान तथा पुण्यकार्य गर्नाले नारीहरुमा अटल सौभाग्य, विद्या, धन, सन्तान, सुखसमृद्धि र दिर्घायु प्राप्त हुने जनविश्वास रहेको छ । शिवरात्री पर्व विशेष कार्यक्रम आयोजना गरिएको हुँदा अतिथि, भक्तजन तथा दर्शनार्थीलाई पत्राचार, प्रचारप्रसार र मन्दिर सरसफाई लगायतका कामहरु तीव्र रुपमा अगाडि बढाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।

गलेश्वर मन्दिरमा हरेक वर्षको श्रावण महिना तथा बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यस वर्षको गत साउनदेखि पुस मसान्तसम्म झण्डै २ लाख श्रद्धालु भक्तजनहरुले मन्दिरको दर्शन गरेको कार्यालय सचिव बानियाँले बताए ।

उनका अनुसार साउनमा मात्रै म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट १ लाख र बालाचतुदर्शीसहित अन्य समयमा थप १ लाख जना तीर्थयात्रीहरु गलेश्वरमा आएका छन् ।पछिल्लो समय गलेश्वर मन्दिरमा नेपालीसहित विदेशी पर्यटकहरु समेत आउने गरेका छन् । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको गलेश्वरमा हिन्दुधर्मावलम्बीका साथै विभिन्न धर्मावलम्बीहरु मन्दिरको दर्शन र पुजाआजा गर्न आउने गरेको क्षेत्र विकास कोषको भनाई छ ।