नाम नेकसरा पुन । काम अल्लो पुवाको धागोबाट कपडा उत्पादन । उमेर ३४ वर्ष, अझै बिहे भएको छैन ।घर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थान । अस्थायी बासस्थान सदरमुकाम बेनीबजार ।

जिल्लाकै एक सफल महिला उद्यमीका रुपमा चिनिएकी पुनलाई नचिन्ने सायद कमै होलान् । वर्षौं बितिसक्यो अल्लो पुवाबाट कपडा उत्पादन गर्न थालेको पनि । बिहानदेखि बेलुकासम्म तानमा अल्लो पुवाको धागोको सहायतामा थान कपडा बनाउन थालेपछि दिन बितेको पत्तै हुँदैन । यसरी सयौं दिन बितिसके, अझै कति समय बित्ने हो थाहै छैन ।

विद्यालय उमेरबाटै तान बुन्न सिपालु नेकसरा पुनले १९ वर्षदेखि अल्लोको धागोबाट विभिन्न किसिमका कपडाहरु बुन्न सुरु गर्नुभएको थियो । सानैमा अरुले बुनेको देखेर आफै बुन्ने सीप आएपछि तान बनाएर विभिन्न कपडा बुन्न सुरु गरेकी पुनले स्कुल लैजाने झोला, लेस, पुजाको थाली ढाक्ने रुमाल, गलबन्दी, सल, पञ्जालगायतका थुप्रै सामानहरु बुन्ने गरेको बताउनुभयो ।

उहाँले कुरुसको सहयोगमा हाते बुनाइबाट झोला, पर्स, रुमाल जस्ता सामानहरु बुनेर त्यसैमा फूलबुट्टा भर्ने र स्वागत, म्याग्दी, नेपाल जस्ता नामको बुट्टाले अझै रङ्गीचङ्गी बनाउने गर्नुहुन्थ्यो ।

एसएलसीसम्म अध्ययनरत पुनले वि.स. २०६० सालमा पहिलोपटक अल्लो कपडा उत्पादसम्बन्धी तालिममा सहभागी हुने अवसर पाउनुभयो । जिल्ला वन कार्यालय म्याग्दी, घरेलु तथा साना उद्योग विकास समिति, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) र एलएपीको सहयोगमा अल्लो कपडा उत्पादनबारे उहाँले तालिम लिनुभएको थियो ।

तालिम अवधिभरमा पुनले अल्लो पकाउने, धुने, सरप लगाउने, त्यसको प्रशोधन गर्ने लगायतका कामहरु सिक्नुभयो । गाउँकै सामुदायिक वनको सहयोगमा सदरमुकाम बेनीमा ३ महिनासम्म चलेको तालिममा सहभागी भएर गाउँ फर्केपछि तान थापेर अल्लोको धागोका कपडा बुन्न सुरु गरेको पुन बताउनुहुन्छ ।

वनजङ्गल र खेतबारीमा खेर जाने अल्लो सङ्कलन गरी त्यसको पुवा काढेर विभिन्न किसिमका कपडाहरुको उत्पादन गर्न आफू लागेको उहाँ बताउनुहुन्छ । सुरुमा गाउँघरमै तान थापेर बुन्ने गरे पनि पछि सदरमुकाम झरेर विभिन्न संघसंस्थाको सहयोगमा आफूले पेशालाई अगाडि बढाएको बताउनुहुन्छ पुन ।

उद्यमी बन्न सफल पुनले जिल्ला लघुउद्यमी समूह संघ (डिमेगा), संगम म्याग्दी, धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, डिसीआरडिसी बागलुङसहितका संघसंस्थाबाट तालिम तथा प्राविधिकको सहयोग पाउनुभएको छ । उहाँले १५ दिनेदेखि ३ महिना अवधिसम्मका विभिन्न ४ ओटा अल्लो कपडा उत्पादनसम्बन्धी तालिम लिनुभएको थियो ।

अल्लोको कपडाबाट कोट, झोला, पर्स, टोपी, जुत्ता, मनी ब्याग, मोवाइल तथा ल्यापटप राख्ने झोलालगायत दैनिक जीवनमा मानिसलाई चाहिने सबै सामानहरु आकर्षक डिजाइन अनुसारका बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

हिमाली अल्लो कपडा उत्पादन लघुउद्यमी समूहका सचिव समेत रहेकी पुनले म्याग्दी र बाहिरी जिल्लामा पुगेर धेरैलाई उद्यमसम्बन्धी तालिम सिकाएर उद्यमी बनाएको अनुभव सुनाउनुभयो ।

अल्लोको उत्पादन नेपालीसँगै विदेशीले पनि बढी मन पराउने हुँदा नेपालीलाई भन्दा विदेशीलाई सामानको मूल्य केही बढी पर्ने उद्यमी पुनले बताउनुभयो । पछिल्लो समय नेपालीहरुले पनि स्थानीय उत्पादनलाई जोड दिन थालेपछि अहिले अल्लो कपडाको माग बढेकाले काम गर्न पुनलाई भ्याइनभ्याई छ ।

अल्लोबाट उत्पादित कोटको मूल्य पाँच हजार रुपैयाँ, ल्यापटप ब्याग र जुत्ता २ हजार ५ सय रुपैयाँ, झोला १ हजार ६ सय रुपैयाँ, टोपी ८ सय रुपैयाँ र मोबाइल झोला तथा जेन्स पर्सलाई ५ सय रुपैयाँ मूल्य पर्ने पुनले बताउनुभयो ।

धौलागिरी अल्लो कपडा उत्पादन तथा ट्रेनिङ सेन्टर उद्योग दर्ता गरी उत्पादित सामानहरुलाई बिक्री गर्ने गरेको उहाँको भनाई छ । म्याग्दी जिल्ला भ्रमण गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकले स्थानीय उत्पादनको चिनो भनेर अल्लोका सामानहरु लैजान गरेका छन् ।

अल्लोबाट वार्षीक १० लाख रुपैयाँ आम्दानी

अल्लोबाट उत्पादन गरेका सामानहरु बिक्रीबाटै वर्षमा झण्डै १० लाख रुपैयाँ बराबरको आम्दानी गर्ने गरेको उद्यमी पुनको भनाई छ । उहाँले महिनामै ५० देखि ६० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

यसपालीको म्याग्दी महोत्सवमा मात्रै उहाँले अल्लोका उत्पादन बिक्रीबाट करिब ४ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । अहिले उहाँसँग अल्लो र उनको धागो, अल्लो कपडालगायत गरी ३/४ लाख रुपैयाँको कच्चापदार्थ मात्रै रहेको छ ।

अल्लोको उत्पादन विदेशसम्म

अल्लोबाट उत्पादित कोट, झोला, गलबन्दी, जुत्ता, टोपीलगायत सामान नेपालको विभिन्न जिल्लाका साथै विदेशमा निर्यात हुने गरेको पुन बताउनुहुन्छ । अल्लोबाट उत्पादित सामानहरु स्पेन, जापान, कोरिया, अमेरिकासहितका विदेशी मुलुकहरुमा पुगेको छ । विदेश जाने नेपाली तथा कतिपय विदेशीले समेत सामान मन पराएर माग गर्ने गरेको उहाँले बताउनुभयो ।

तालिम दिन जिल्ला भ्रमण

अल्लो उद्यमी पुनले आम्दानीसँगै विदेशमा सामान निर्यात त गर्नुभएकै छ, त्योसँगै नयाँ उद्यमी उत्पादनका लागि तालिम दिन देशका विभिन्न जिल्लाको भ्रमण पनि गर्नुभएको छ ।

उहाँले कालीकोटमा १०, दैलेखमा ७, अछाममा ६, बागलुङमा २, रसुवा, लमजुङ र गोरखामा एक एक पटक तालिम दिनुभएको छ । तालिम दिन हिमाली जिल्ला डोल्पा जाने क्रममा आफू पहिलोपटक प्लेन चढेर जाने अवसर मिलेको र प्लेनको अनुभव समेत बटुलेको पुन बताउनुहुन्छ ।

उहाँले आफ्नो गृह जिल्ला म्याग्दीमा धेरैलाई पटकपटक अल्लोको उत्पादनसम्बन्धी तालिम दिएर उद्यमी तयार गर्नुभएको छ । आफूले सिकाएका उद्यमीले तालिमपछि सीप सिकेर व्यवसाय सञ्चालन गरेको देख्दा आफूलाई सन्तोष लागेको उहाँको भनाई छ ।

‘बिहे गर्ने मन छैन’

सानै उमेरदेखि सीप सिकेर आत्मनिर्भर बनेकी पुनले बिहे गर्ने मन नभएको खुलासा गर्नुभयो । तीनजना दिदीबहिनी, दुई दाजुभाइ र बुवाआमासहित ७ जना परिवारमा माइली छोरी नेकसराले घरमा केटा माग्न आउँदा नमानेको, लभ पनि नगरेको र आफूले नमान्दा घर परिवारले जोड नगरेपछि बिहे नगरेको बताउनुभयो ।

सफल उद्यमी नै बन्नुभएको छ, बल्ल ३४ वर्ष पुग्नुभयो बिहे गर्ने उमेर त अझै छ नि ? भन्ने उज्यालो अनलाइनसँगको प्रश्नमा उहाँले भन्नुभयो, ‘विवाह नगरे पनि अर्काको देखेर अनुभव सङ्गालेकी छु, बिहे गरेकाहरुको मुद्दा मामिला, उनीहरुको अवस्था, दुःख पीडा र झन्झट सबै बुझेको हुनाले मैले बिहे गर्दिन ।’

पुनको विदेश जाने रहर पनि छैन । आफ्नो हातमा सीप र आफूसँग जाँगर भएपछि जुनसुकै अवस्थामा जहाँ गएर पनि काम गर्न सकिने पुन बताउनुहुन्छ ।

विज्ञापन