विमिराबोटमा शिवरात्री मेला शुरु

0
284

बेनी नगरपालिका २ ज्यामरुककोटको विमिराबोटमा आइतवारदेखि महाशिवरात्री मेला एवम् विविध खेलकुद प्रतियोगिता शुरु भएको छ । विमिराबोटमा अवस्थित लेखसाइड युवा क्लवको आयोजनामा शुरु भएको सो मेलाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले युवाहरु सिर्जनशील र रचनात्मक कार्यमा लागेपछि मात्र समाज रुपान्तरण र विकासमा सहयोग पुग्ने बताउनुभयो ।

युवाहरु देशका संवाहक भएको बताउँदै नगरपालिका प्रमुख श्रेष्ठले मेला महोत्सवहरु केवल मनोरञ्जनका लागि मात्र नभएर समाजको विकासका लागि सहयोगी हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । युवाहरुको प्रयासमा धार्मिक पर्वको अवसर पारेर मेला आयोजना गरेकोमा धन्यवाद दिँदै प्रमुख श्रेष्ठले नगरपालिका भित्रका खेल प्रतिभाहरुलाई यस्ता मेलाहरुले चिनाउने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, बेनी नगरपालिकाका कार्यकारी अधिकृत तेजराज शर्मा,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् नगर कार्य समितिका सदस्य कृष्ण विक,जिल्ला मालपोत अधिकृत मुकुन्द पौडेल,बेनपा २ का वडा अध्यक्ष हिरावहादुर थापा,नेपाली कांग्रेस बेनपा २ का सभापति क्षेत्रवहादुर थापा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम लेखसाइड युवा क्लवका अध्यक्ष कृष्ण थापाको अध्यक्षता,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यता,स्थानीय हरिप्रसाद शर्माको स्वागत र रामचन्द्र रिजालको संचालनमा सम्पन्न भएको थियो । मेला तीन दिनसम्म संचालन हुने जनाइएको छ ।