सुत्केरी चढेको सवारीको हावा फालियो

0

गएराती एक सुत्केरी चढेको सवारीसाधनको हावा फालिएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट सुत्केरी सहित यात्रु लिएर बेनी नगरपालिका–९ तोरीपानी तर्फ लागेको बोलेरो जीप मारनीथानमा दुईजनाले रोकेर हावा फालिदिएको थिए । ध १ ज ७४५ नम्बरको जीपमा सवार सुत्केरी कल्पना परियारका श्रीमान भब बहादुर किसानका अनुसार जीप रोकेर टायरको हावा फालिदिएपछि अलपत्र परेको बताए ।

‘तीन दिनको सुत्केरीलाई लिएर फर्किए । अन्य यात्रु समेत अलपत्र परे’ उनले बेनीअनलाइनलाई भने । जिल्लामा यातायात ब्यवसायी बीचको विवादले यात्रु मर्कामा परेको बताउँदै राती बेनीमा फर्किएर सोमबार विहान घर फर्किएको किसानले बताए ।

उनका अनुसार जीप रोकेर हावा फालेपछि भागेको बताए ।‘मैले मान्छे चिन्दिन । पोखराबाट सुत्केरीलाई लिएर आएको थिए, अन्य यात्रु समेत त्रसित भए’ उनले भने । जिल्लामा यातायात ब्यवसायी बीच सार्वजनिक रुपमा विवाद नभएपछि विना रुट प्रमिट रातो र कालो नम्बर प्लेटमा भएका बोलेरो जीपमा यात्रु बोक्ने गरेको भन्दै विवाद हुने गरेको छ ।

सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रमा म्याग्दी जिप तथा बस सञ्चालक समिति, पश्चिम म्याग्दी जीप ब्यवसायी समिति, म्याग्दीकाली यातायात समिति, धौलागिरी यातायात ब्यवसायी समिति मार्फत भाडाका सवारीसाधन सञ्चालनमा रहेका छन् । पछिल्लो समय निजी प्रयोजनमा खरिद गरिएका सवारीसाधनले समेत यात्रु बोक्ने गरेको गुनासो आउने गरेको छ।