बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम सोमबार म्याग्दीको मूख्य धार्मिकस्थल गलेश्वरधाममा शिव भगवानको नृत्य अवतार नटराजको मूर्तिको अनावरण गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका बस्ने क्या. चन्द्रबहादुर र हेमबहादुर पुनका चार भाइबहिनीहरुले स्वर्गीय माता भद्रशिला पुनको स्मृर्तिमा गलेश्वर शिवालय क्षेत्र विकाससंगको समन्वयमा ३लाख पचहत्तर हजार रुपैयाँको लागतमा मूर्ति स्थापना गरेका हुन् ।मूर्तिका प्रदेशसभा सांसद विनोद केसीले अनावरण गरेका हुन् ।

अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले चार नम्बर प्रदेशमा गलेश्वर प्रमुख धार्मिस्थल भएको बताउँदै पूर्वाधार विस्तारले समेत भक्तजनलाई सहज भएको बताए । कार्यक्रममा समन्वय समितिका प्रमुख देवेन्द्र केसी, सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोखरेल, राजनीतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सचिब क्या. मिनबहादुर कार्की, बेनपा–९ का वडाअध्यक्ष बेलबहादुर चोखाल लगायतले गलेश्वरसँग मुक्तिनाथ, कालिका भगवति, पञ्चकोट, गुप्तेश्वर जस्ता धार्मिकस्थललाई जोडेर धार्मिक पर्यटकीय हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्दिरमा संकलन भएको भेटीको दुरुपयोग रोक्न कोष मार्फत भइरहेको प्रयास नेपालका अन्य धार्मिक संघसंस्थाले समेत सिको गर्नुपर्नेमा जोड दिए । गलेश्वरमा अर्को पम्पीङ्ग मार्फत कालीगण्डकीको पानी तानेर १०८ धारा मार्फत स्नानको व्यवस्था मिलाइने क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । मन्दिरमा पुजा गर्न आउने भक्तजनलाई अन्न आश्रममा निशुल्क भोजनको ब्यवस्था रहेको छ ।