पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेश नम्बर ४ मा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन्।प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई सोमबार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्। गुरुङले कूल ६० जना सदस्य रहेको प्रदेशसभामा २७ जना सदस्य रहेको नेकपा एमालेको संसदीय दलको नेतामा आफू सर्वसम्मत भएको र १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र)को समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष आफूलाई मुख्यमन्त्रीमा नियुक्ति गरी पाउँ भन्ने व्यहोराको पत्र बुझाएका थिए।

नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम नेकपा(माओवादी केन्द्र) को समर्थनमा बहुमत प्राप्त गर्न सफल पृथ्वीसुब्बा गुरुङलाई प्रदेश प्रमुखले प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवाली बताए।

मुख्यमन्त्री गुरुङको पद तथा गोपनीयताको सपथ ग्रहण फागुन २ गते २:०० बजे प्रदेश प्रमुखको निवासमा हुने सचिव ज्ञवालीले जानकारी दिए। नियुक्ति भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको समृद्धिको लागि प्राथमिकता अनुसार आवश्यक ऐन कानून बनाउने, आवधिक योजना तयार गर्दै अघि बढ्ने बताए। उनले प्रदेशमा सात सदस्यीय मन्त्रीमण्डल गठन गर्ने बताए।