जिल्लामा हुने अघोषित लोडसेडिङ्गलाई हटाउन माग गर्दै म्याग्दी उद्योग वाणिज्य संघले सोमबार विद्युत प्राधिकरणको ध्यानकर्षण गराएका थिए ।

अनियमित विद्युत कटौतीले उद्योग, कलकारखाना लगाएतका साना ब्यवसायमा समेत असर गरेकाले तत्काल रोक्न माग गदैं संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यको नेतृत्वमा गएको पदाधिकारीको टोलीले प्राधिकरण बेनी वितरण केन्द्रका सहायक ईन्जिनियर कृष्णप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाउँदै समस्या समाधानमा पहल गर्न माग गरेका छन् ।

‘ब्यवसायी हैरानीमा परेका छन् । विना जानकारी हुने विद्युत कटौतीलाई रोक्न पहल गर्नुहोस्’ अध्यक्ष कर्माचार्यले भने। उनले संघ मार्फत विगतमा पनि पटकपटक ध्यानर्कषण गराएपनि समस्याको समाधान नभएको बताउँदै सुधार नभए थप दवावमूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले अनियमित लोडसेडिङ्गले फर्निचर, मासु , ग्रिल उद्योग संगै विद्युतीय उपकरणद्धारा सञ्चालित उद्योग व्यवसायमा गम्भीर असर गरेको बताए । साँझ हुने अघोषित रुपमा लोडसेडिङ्गले विद्यार्थीलाई समेत पठनपाठनमा समस्या भएको बताउँदै म्याग्दी, बागलुङ र पर्वत वितरण केन्द्रमा देखिएको समस्याको सामुहिक छलफलबाट समेत समाधान गर्न ब्यवसायीले माग गरेका छन् ।

डेढ दशक देखी संघले विद्युत कार्यालयलाई विद्युत आपूर्तीमा देखिएको विद्युत समस्या समाधानको लागि पहल गरेपनि उचित सम्बोधन हुन नसकेको ब्यवसायीको गुनासो छ । ज्ञापनपत्र बुझाउने क्रममा बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिब लिलाराम गौतम लगाएतले लोडसेडिङमुक्त नाम मात्रै भएको गुनासो गरेका थिए । बेनी वितरण केन्द्रका सहायक ईन्जिनियर शर्माले विद्युत आपूर्तीमा बेनी वितरण केन्द्रको कमजोरी नभएको बताए ।

उनले पर्वतमा ३३ केभिलाई ट्रान्समिसन लाईन र ११ केभिलाई वितरण केन्द्रको रुपमा मात्रै प्रयोग गरिएकाले समस्या देखिएको बताउँदै केही महिनाभित्र समस्याको समाधान हुने बताए । उनले बागलुङ र पर्वतमा विद्युत मर्मतको क्रममा सेवा प्रवाहमा समस्या देखिएको बताउँदै जिल्लामा जनप्रतिनिधिहरु मार्फत पहल गर्नुपर्ने बताए । बागलुङ र पर्वतमा ३३ केभि प्रभावित क्षेत्रमा विद्युत कतौटी हुने गरेको बताउँदै शर्माले जिल्लामा अहिले साँझ आधा घण्टा हुने विद्युत कतौटीलाई बेनी, दाना र रत्नेचौर फिडरमा लोडको भार हेरेर व्यवस्थापन गर्ने गरिएको वितरण केन्द्रले जनाएको छ ।