आगोलागीले एक घर जलेर नष्ट, २५ लाखको क्षति

बेनी नगरपालिका–५ भिरमुनीमा आगोलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गएराती अचानक भएको आगोलागीले भिरमुनीका मोहन बानियाँको ढुङ्गामाटो र जस्तापाता बनेको दुईतले घर र विद्युतीय मिल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरमा कोही पनि नभएको अवस्थामा रातको समयमा भएको आगोलागीले घर तथा कुटानी पिसानी गर्ने मिल पूर्णरुपमा जलेर क्षति भएको प्रहरीको भनाई छ । आगोलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, खाट, दराज, लोबेड, लालपूर्जा, सर्टिफिकेट, तमसुकलगायत महत्वपूर्ण कागजातका साथै विद्युत मोटर, मिटर बक्ससहितका सम्पूर्ण सामानहरु जलेर खरानी भएको पीडित मोहन बानियाँले जानकारी दिए ।

उनका अनुसार सबै सामान तथा घर र मिललगायत गरी २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोलागीबाट पशुचौपाया र मानवीय क्षति भने भएको छैन । आगलागी विद्युत सर्ट भएर वा घरभित्र कोही प्रवेश गरेर घटना घटाएको हुनसक्ने अनुमान गरिएको छ । आगोलागी भएको खबर पाएपछि स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाले आगोलाई नियन्त्रणमा लिएका थिए ।

Facebook Comments