फोहोर व्यवस्थापनविरुद्ध स्थानीयको विरोधसहित धर्ना

म्याग्दीको सदरमुकाम बेनीबजारबाट दैनिक रुपमा निस्कने फोहोरको व्यवस्थापनविरुद्ध स्थानीयवासिन्दाले धर्ना दिएका छन् । बेनी नगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि खोजी गरेको ठाउँमा फोहोरमैला फ्याँक्दा वातावरणका साथै मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै बेनपा–४, ५ र ६ नम्बर वडाका स्थानीयले सोमबार विरोध गरेका हुन् ।

बेनी नगरपालिका अन्तर्गतको फोहोर व्यवस्थापन समितिले बेनपा–३ को भकिम्लीस्थित गोरुजुरे सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ओढारे भन्न स्थानमा डम्पिङ साइड निर्माण गरी फोहोर व्यवस्थापन गर्न ठाउँ खोजी गरेको थियो । उक्त ठाउँमा फोहोर व्यवस्थापनका लागि वन समूहसँग आवश्यक छलफल गरी बेनपा–३ को वडा कार्यालयले समेत स्वीकृती दिएको थियो ।

तर, ओढारे क्षेत्र आसपासका स्थानीयले वातावरण प्रदूषण हुने, मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने र वस्तीमा समस्या आउने भन्दै ओढारे फोहोर सङ्कलन कार्यविरुद्ध संघर्ष समितिमार्फत विरोध गरेका छन् । उनीहरुले बेनपा–३ गोरुजुरे सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत ओढारे फोहोर व्यवस्थापन (डम्पिङ साइड) निर्माणकार्यको विरोधमा बेनी नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।

डम्पिङ साइड निर्माण गरी फोहोर व्यवस्थापन गर्ने कार्यको विरुद्धमा बेनी नगरपालिका अन्तर्गत ४, ५ र ६ नम्बर वडाको बगुवाखोला, चुत्रेनीलगायतका स्थानीयले विरोध गरेका छन् । ओढारे क्षेत्रको १ सय मिटरको दुरीमा रहेको विद्यालय, खेलमैदान र वरपरको वातावरणका साथै मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै आफूहरुले विरोध गरेको बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले बताए । फोहोर व्यवस्थापनविरुद्ध उत्रिएका स्थानीयले नगरपालिकाले ओढारे आसपासका स्थानीयसँग आवश्यक समन्वय समेत नगरेको आरोप लगाएका छन् ।

यता बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले भने नगरपालिकाले सम्बन्धित वडा कार्यालय र गोरुजुरे सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा फोहोर व्यवस्थापनको निर्णय गरिएको बताए । फोहोर व्यवस्थापनका लागि पछिल्लो समय वैठक समेत नबसिएको अवस्था रहेको हुँदा प्रभावित क्षेत्रका स्थानीयको विरोध आइसकेपछि त्यस कार्यलाई अगाडि बढाउन नसकिने उनको भनाई छ ।

केही समय पहिले बेनी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि रत्नेचौरको रानीवनमा विसर्जन गर्ने बताएपछि त्यहाँ पनि स्थानीयबाट विरोध भएको थियो । बेनीबाट दैनिक रुपमा निस्कने फोहोरलाई बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीमा फाल्ने गरिएको छ । त्यहाँ पनि पवित्र नदीमा फोहोर फाल्दा मानव स्वास्थ्यमा असर पुगेको भन्दै विरोध भैरहेको अवस्थामा नगरपालिकालाई फोहोर व्यवस्थापनको नयाँ ठाउँ खोजी गर्न हम्मेहम्मे भएको छ ।

Facebook Comments