सुदिप स्मृति कोषले उच्च माविमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

सुदिप रावल स्मृति कोषले राष्ट्रिय शिक्षा परिषद्ले सञ्चालन गरेको दश जोड दुईको परिक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

मंगलबार स्वर्गीय रावलको ९ औ स्मृति दिवसको अवसरमा २०७३÷७४ सालमा लिएको परीक्षाकोे औसत अंकमा जिल्लामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरेको हो । जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा गंगा शेरपुञ्जा (७९.३), द्धितीय हुने माउण्ट एभरेष्ट आवासीय उच्च माविकी छात्रा काजोल रोका (७८.८४) र तृतीय हुने माउण्ट एभरेष्टकी सुस्मा आर्चाय (७५.२) लाई सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थी उच्च शिक्षाका लागि जिल्ला र देश बाहिर रहेकाले विद्यालयका शिक्षकलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापा, कोषका संरक्षक दुर्गा बहादुर रावलले सम्मान गरेका थिए । प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार र २ हजारको साथमा सम्मान पत्र एवम् खादाले सम्मान गरिएको थियो ।

२०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाख ५० हजारको अक्षय कोषको स्थापना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि थापाले स्वर्गीय रावलको स्मृतिमा गरिने रचनात्मक कार्यले अधुरा इच्छा पुरा गर्ने बताए ।

कार्यक्रम सुदिप रावल स्मृति कोष, म्याग्दीका अध्यक्ष सन्तोष रावलले कोष मार्फत सामुदायिक विद्यालयका विद्यार्थी, खेलकुद गतिविधि, आर्थिक सहयोग लगाएत विभिन्न कार्यहरुमा सहयोग गरिएको बताए ।उनले कोषलाई हरेक बर्ष बृद्धि गदैं सामाजिक कार्यमा थप सहयोग गर्ने बताए ।

पुरस्कार वितरणको स्वागत सदस्य हरिकृष्ण गौतम, कोष स्थापनाका बारेमा कोषाध्यक्ष चन्द्रकुमार केसी र सञ्चालन कोषका सचिव विक्रम बोगटीले गरेका थिए । यसैबीच स्वर्गीय सुदिपका नवविवाहित माहिला दाजु विकास रावल र भाउजु सन्ध्या केसी रावलले कोष मार्फत म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको दृष्टिविहिन पुस्तकालयलाई २५ हजार सहयोगको घोषणा गरेका छन् ।

Facebook Comments