महाशिवरात्रीमा गलेश्वरमा दर्शन गर्ने भक्तजन घटे

महाशिवरात्रीको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा विगतका बर्षको तुलनामा कम भक्तजन देखिएका छन् । पर्वको अवसरमा मंगलबार बिहान निकै कम संख्यामा भक्तजन देखिएको थियो ।

महदेव शिवको पुजा गर्न म्याग्दीका विभिन्न स्थानका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलबस्तु लगाएतका जिल्लाबाट समेत भक्तजनहरू आएका छन्। ‘यसबर्ष शिवरात्रीमा विहानको समयमा धेरै भक्तजन देखिए । रातीसम्म पुजाआजा हुन्छ’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले भने ।

विगतका बर्षमा विहानै देखी पुजाआजा गर्न मन्दिर भित्र र बजारसम्म लाइन पुग्ने गरेको भएपनि यसबर्ष अपेक्षा गरेभन्दा कम भक्तजनको आगमन भएको बताए । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वरमा शिवरात्रीमा भित्रिएका भक्तजनलाई सहज पुजआजाको ब्यवस्था मिलाइएको थियो । ‘भक्तजनलाई सहज आवतजावतको ब्यवस्था गरिएकाले पनि पुजाआजामा कुनै दुख भएन । भक्तजनको साम्रागी सुरक्षाका लागि समेत स्वयमसेवक खटिएका थिए’ पर्वत बेनीमा अवस्थित न्यू होराईजन माविका सहायक प्रधानध्यापक अर्जुन पौडेलले भने ।

दर्शन गर्न आएका भक्तजनलाई अन्न क्षेत्रमा निशुल्क भोजको ब्यवस्था गरिएको थियो। परिसरमा चोरी हुनसक्ने भन्दै सिसी क्यामेरा समेत जडान गरिएकाले पनि कुनै घटना नघटेको ब्यवस्थापन पक्षले जनाएको छ । मन्दिरमा सुरक्षा, पुजा तथा बत्ति,गणेश मन्दिर दर्शन, नरिवल फुटाउने, शिवलिङ्ग दर्शन, मन्दिर बाहिर टिकाप्रसाद, शिवचक्रशिला परिक्रम, जलपान, भोजन, गाडी पार्किङ, पुजा साम्रागी विक्री बजारलाई समेत ब्यवस्थित बनाइएको थियो । यसबर्ष शिव भगवानको नृत्य अवतार नटराजको मूर्तिको अनावरण गरिएको छ ।

शिवरात्रीको रातमा शिवजीको दर्शन गरेमा हिंस्रक जातिले पनि मुक्ति पाउने धार्मिक परम्परा छ । यसैविच मन्दिरमा सुन र तामाको बेलपत्र चढाउने ब्यवस्था समेत मिलाइएको थियो । सधै वृक्षको बेलपत्र चढाउने गरेका भक्तजनहरूले ११ सय ११ रुपैयाँ उपलब्ध गराएर चढाएका थिए । धार्मिक विश्वास अनुसार बेलपत्र महादेवको प्रिय बनस्पति भएकाले पनि भक्तजनले आफ्नो मनोकामना पुरा गर्न सुन र तामाको बेलपत्र समेत खोज्ने गरेका थिए ।

Facebook Comments