पशुपालनमा जमेका पौडेल दम्पत्ती

बेनी नगरपालिका–६ बास्बोटकी हेमकुमारी पौडेलले दुईदशक अगाडी दुईवटा भैसी पाल्दा श्रीमान दुर्गाप्रसाद रोजगारीको सिलसिलामा भारत थिए ।करिव एकदशक भारतमा विताएका पौडेलको तलब मालिकको मुडको भरमा निर्धारन हुन्थ्यो । सुन्दर र सुखी परिवारको सपना लिएर भारत पसेका पौडल फर्कने बेलामा रित्तै फर्किए ।

रोजगारबाट घर फर्किदा हेमकुमारीले भने घरायसी,अन्नपात संगै भैसीपालनलाई निरन्तरता दिइरहेकी थिईन् । भारतबाट फर्किएको केही महिना घरायसी काम गरेका पौडेल जागीर खोज्दै बेनीबजारमा ओर्लिए । बेनीको न्यूरोडमा रहेको बेनी आवासीय माविमा कर्मचारीको रुपमा करिव १३ बर्ष विताएपनि परिवार,बालबालिकाको शिक्षादिक्षा सहित घरखर्च चलाउन समेत मुस्किल हुन्थ्यो ।

करिव साढे दुईदशक उनले जागिरमा विताए पनि उपलब्धी खासै देखनन् । अर्काको घरमा मजदुरी गर्दा उपलब्धी नभएपछि भैसीपालनलाई अगाडी बढाउ हेमकुमारीले गरेको प्रस्तावलाई दुर्गाप्रसादले स्वीकार गदैं तीनवटा भैसीबाट ब्यवसाय सुरू गरेका पौडेल दम्पत्तीले पशुपालनबाटै रहरलाग्दो आम्दानी गरिरहेका छन् । अहिले दुईवटा गोठमा ११ वटा भैसी छन् ।

दैनिक १ सय १० लिटर दुध बजारमा लैजाने गरेका पौडेल दम्पत्ती पशुपालनमा गाउँकै नमुना कृषकको रुपमा स्थापित भएका छन् । ‘मैले भैसीपालन गर्नुपर्छ भन्नेर प्रस्ताव गर्दा उहाँले सहजै स्वीकार गर्नुभयो,‘जागिरबाट घरखर्च चल्यो, पशुपालनबाट बचत गर्न सफल भइयो’ हेमकुमारीले भनिन् ।

उनले जागिरबाट समयको बर्बादी भएपनि पशुपालनबाट हुने आम्दानीले विगतका दुखलाई विर्सिएको बताईन् । ‘घरका दुहुनो भैसी अहिले आम्दानीको माध्यम बनेको छ,‘दुख भएपनि आम्दानी राम्रो छ’ हेमकुमारीले भनिन् । तीनवटा गोठमा करिव २० लाख लगानी गरेका पौडेल दम्पत्तीलाई बेनीमा रहेको गरिमा विकास बैंकबाट सर्वसुभल कर्जाले पशुपालनलाई अगाडी बढाउन सहज भएको पौडल दम्पत्तीको भनाई छ ।

‘दिनको दुईपटक बजारमा दुध लैजान्छु।जागिरमा उमेरमा बढ्यो, पैसा बढाउन सकिएन‘ पौडेलले भने । मुर्रा, र स्थानीय भैसीबाट दैनिक सदरमुकाम बेनीमा दुध विक्री गर्न आउने गरेका पौडेलले प्रतिलिटर १ सय २० रुपैयाँसम्म विक्री गर्ने गरेका छन् ।

उनले मासिक दुध बिक्रीबाट करिव २ लाख कारोबार गर्छन् । भैसीलाई घाँस खदिर संगै विविध खर्च कटाएर मासिक हुने कमाईले घडेरी समेत जोड्न सफल भएको बताए । ‘दुख गरे घरमै कमाउन सकिन्छ,‘पशुपालनमा राज्यले प्रोत्साहन गर्न सकेमा कमाउन विदेश जानुपदैन्’ उनले भने । केहीबर्षमा २० वटा भैसी पु¥याउने गरी योजना बनाइरहेको बताए ।

उन्नतजातका भैसी खरिदमा सहुलीयत ऋण, बनजंगलका घाँसमा प्राथमिकता, उन्नजातका घाँस, गोठ निर्माण, प्राविधिक तालिम सहितका गतिविधिमा राज्यले प्रोत्साहन गरेमा ३० हजार कमाउन खाडीमा पुगेका सयौं यूवाहरू गाउँ फर्कने उनको दावी छ । जिल्लामा पछिल्ला केहीबर्ष यता विदेशबाट फर्किएका यूवाहरुले धमाधम पशुपालन गर्न थालेपछि सदरमुकाम बेनीमा दैनिक १७ सय र छिमेकी जिल्ला पर्वतबाट ६ सय लिटर दुध बजारमा भित्रिने छ । दैनिक २८ देखी ३ हजार लिटर दुधको माग रहेकाले यूवालाई पशुपालनमा प्रोत्साहन गर्न आवश्यक रहेको पशुसेवाका कर्मचारीको भनाई छ ।