कुहुँको शीरमा पर्ने महभीरमा सडक

जिल्लाको मंगला गाउँपालिका–१ कुहुँको महभीरमा सडक पुगेको छ । सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियान अन्र्तरगत कुहुँ–कमलजैशी थान हुदै महभिरसम्म पुगेको सडकको वडा अध्यक्ष डेक बहादुर राम्जालीले उद्घाटन गरेका छन् ।

सडक उद्घाटन कार्यक्रममा वडा अध्यक्ष राम्जालीले वडा भित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथमिकता दिएको बताए । उनले सडक सञ्जाल संगै शिक्ष, स्वास्थ्य, सामाजिक कार्यमा प्रयाप्त बजेटको अभावले समस्या भइरहेकाले आगामी आर्थिक बर्षमा प्राथमिकता दिएर गाउँपालिकामा बजेट माग गर्ने बताए । गाउँपालिकाको ५ लाखको लागतमा करिव १ किलोमिटर सडक उद्घाटन संगै स्थानीयले जनप्रतिनिधिलाई सम्मान समेत गरेका थिए ।

करिव ८५ घरधुरी रहेको गाउँका बासिन्दालाई सडक सञ्जालले जोडिएपछि आवतजावतमा सहज भएको वडा सदस्य दिलकुमारी खत्रीले जानकारी दिईन् । ‘एकैबर्ष सबै समस्या समाधान गर्न सकिएको छैन्,‘प्राथमिकताको आधारमा समस्याको समाधान भइरहेको छ’ उनले भनिन् ।

सडक विस्तारमा प्रवासमा रहेका कुहुँबासीले ७० हजार आर्थिक सहयोग गरेका थिए । सडक विस्तार गर्ने क्रममा करिव २ लाख अपुग भएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । अपुग रकमलाई गाउँपालिका तथा चन्दा संकलन गरिने छ । पर्यटकीय तथा धार्मिक महत्व बोकेको कुहुँका विभिन्न बस्तीमा सडक पुगेको छ । सडक मर्मत तथा स्तरउन्नती कोषका लागि समेत वडाले योजना बनाएको छ ।