सामुदायिक बनमै १० मुरी आलु

बेनी नगरपालिका–५ पुलाचौर डडुवाबासीले सामुदायिक बनबाटै १० मुरी आलु फलाएका छन् । खेतीयोग्य जमिन उपयोग गर्ने नीति अन्र्तरगत भेडाखोर सामुदायिक बनले गरेको परिक्षण आलुखेती सफल भएपछि स्थानीय उत्साहित भएका छन् ।

बनभित्र रहेको समथर जमिनमा पहिलोपटक ५ हजार मुल्य बराबरको आलु खरिद तथा तारबार गरी खेती गरिएको थियो । ‘करिव १० मुरी राम्रो आलु उत्पादन भएको छ,‘उपभोक्ताले बनबाटै विक्री भयो’ उपभोक्ता समितिका सदस्य मोहन बहादुर भण्डारीले भने । उनका अनुसार प्रति पाठी ९० रुपैयाँको दरले विक्री गरिएको थियो ।

आलु खेतीका लागि उपयुक्त माटो रहेकाले आलु विक्रीबाट संकलन गरिएको करिव १८ हजार रुपैयाँबाट मुला खेती गर्ने तयारी भइरहेको छ । सामुदायिक बनले खाली जमिनमा तरकारी खेतीलाई निरन्तरता दिन लिफ्ट सिँचाई आयोजनाबाट समेत पानीको प्रयोग गर्ने गरेको छ । आम्दानीसंगै बन क्षेत्रमा हुने चोरीनिकासीलाई समेत नियन्त्रण गर्न सहज हुने उपभोक्ता समितिको भनाई छ । सामुदायिक बन भित्र खाली रहेका जमिनमा जडिबुटी र तरकारी खेतीका लागि थप पूर्वाधार विस्तार गरिने समितिले जनाएको छ ।

आलु र मुला उत्पादनमा पकेट क्षेत्र समेत रहेको छिमेकी मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा जस्तै डडुवामा ठुला दाना, छिटो पाक्ने, खाँदा स्वादिलो हुने आलु उत्पादन हुने भएकाले पनि बजारमा माग उच्च रहेको भेडाखोर सामुदायिक बनकी उपभोक्ता रामकुमारी खत्रीले बताईन्। सामुदायिक बनमा गरिएको आलुखेतीको नियमित मलजल, रेखदेख, तारबारलाई थप ब्यवस्थित बनाइने छ । खेर गएको जमिनलाई सदुपयोग गर्न आलु खेती गरिएको बताउँदै बनमा हुने जडिबुटी लगाएत आम्दानीको स्रोतको पहिचान गरिएको उनको भनाई छ ।

डडुवामा रहेका ९३ घरधुरी मध्ये अधिकांस आलुखेतीमा जनश्रमदान गरेका थिए । परिक्षण उत्पादनमै आम्दानी भएपछि स्थानीय उत्साहित भएका छन् । करिव ५८ हेक्टर जमिनमा फैलिएको बनभित्र रहेका काठ, दाउरा, घाँसको चोरी निकासी रोक्न कार्यले समेत बन क्षेत्रको संरक्षण भएको सचिव बल बहादुर बानियाँले बताए ।

‘घरायसी प्रयोजनका लागि मात्रै खेती गर्ने गरिएको थियो ।अहिले गाउँमा ब्यवसायीक आलुखेतीमा समेत आर्कषण बढेको छ’ उनले भने । जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । जिल्ला आलु खेतीमा आत्मनिर्भर जस्तै छ । अनुकुल वातावरण, सहज बजार मुल्य, अनुदान, हित कोष सहितका कार्यक्रमबाट आर्कषित भएका किसानले अन्य बालीलाई समेत छोडेर आलु खेती तर्फ आर्कषित हुन थालेपछि एक वर्षको अवधिमा झण्डै ४५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ ।