घलेम्दीखोलाको निर्माणकार्य अन्तिम चरणमा, यसैबर्षबाट विजुली बेच्ने

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाका पावरहाउस,पेनस्टक पाइप, ‘सर्ज टयाङ्क’को काम तिब्र गतिमा अगाडी बढेको छ ।

आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिनको काम सकिएको कम्पनीका अध्यक्ष किशोर सुबेदीले बताए । ‘समग्रमा ९२ प्रतिशत काम सकिएको छ,‘बाँकी कामलाई पनि तिब्र गतिमा अगाडी बढाएका छौ’ सुबेदीले भने ।उनका अनुसार पावर हाउसको काम ८० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ । निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको विद्युतगृहमा मेसिन जडान अन्तिम चरणमा पुगेको छ ।

‘पेनस्टक पाइपको जडान करिब पूरा भएकाले पाइपमा पानी हालेर मेसिनसम्म पु¥याउने काम बाँकी छ’ आयोजनाका सञ्चालक एवम् प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले भने ।१७ सय मिटर सुरुङ जोडिएपछि दुवैतर्फ फिनिसिङको काम भइरहेको छ ।आगामी असोज महिनाभित्र परिक्षण उत्पादन गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए ।निलगिरि खोलाको किनारमा अवस्थित पावरहाउसमा आवश्यक जनशक्तीलाई केन्द्रित गरिएको छ ।

पावरहाउस नजिक कर्मचारी आवासगृहको कामले समेत तिब्रता पाएको छ । जिल्लामा निजी क्षेत्रबाट निर्माणधिन अवस्थामा रहेको जलविद्युतमा घलेम्दीले सबैभन्दा पहिले उत्पादन दिनेछ । बन्दहड्ताल, भारतीय नाकाबन्दीको समयमा समेतमा दैनिक दुई सिफ्टमा काम गरिएकाले पनि आयोजनालाई अन्तिम रुप दिन सहज भएको उनले बताए ।

घलेम्दी खोलाको धार परिवर्तन गरी दुवै तर्फबाट निर्माण कार्य सम्पन्न भएपछि लगानीकर्ता समेत उत्साहित भएका छन् । पावर हाउस देखी ड्यामसम्म करिव १ सय ५० जना मजदुर कार्यरत छन्। विगतमा भौगोलिक विकटताका कारण सडकको पहुँच नहुदाँ सामान ढुवानीमा भरिया र खच्चडको प्रयोग गर्दा लागत र समय समेत धेरै खर्चिनुपर्ने अवस्थामा अहिले सुरूङबाट सबै सामानहरू एकघण्टामै ड्याममा पुग्ने भएकाले पनि सुरुङको काम सकिएपछि आयोजनाका अन्य संरचनाले गति लिएको थियो ।

अन्नपूर्ण हिमालको फेदमा अवस्थित आयोजनाको ड्यामस्थलको सञ्चालक समितिका सदस्यको निगरानीमा काम गरिएको थियो । सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ ।३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा १३ सय जना संस्थापक सेयर रहेका छन भ ने वित्तिय संस्थाबाट ५५ करोड कर्जा लिएको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १३ करोड रुपैयाँ बरावरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ ।

घलेम्दीबाट उत्पादन गरिएको विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिन तत्काल भएको क्षमता भएकाले पनि खेर जादैन् । अन्नपूर्ण गाउँपालिकाकै दाना सवस्टेसन निर्माणधिन अवस्थामा रहेकाले परिक्षण उत्पादनलाई केन्द्रिय प्रशारण लाइनमा जोड्न अहिले भएको क्षमताले पुग्ने भएकाले परिक्षण लगत्तै ब्यवसायीक उत्पादन गरिने छ । नारच्याङमै निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाटको म्रिस्ती खोलाको करिव ५२ प्रतिशत काम सकिएको छ । नारच्याङमा करिव १ सय ५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् ।