भाले बास्ने ताल म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य

गाउँदेखी पर अनकन्टार जंगल छ । पहाडबाट छहरा झरेका छन् । त्यही छहराले ठाउँ ठाउँमा ताल बनेका छन् । यो ताल त्यस आसपासको सबैभन्दा ठुलो ताल हो, जहाँ विहान पख भाले बास्छ । स्थानीयले तालको नाम नै भाले बास्ने ताल राखेका छन् ।

भाले बास्ने ताल पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङको दुखुबेसीमा पर्छ । नेपालमा आर्कषक तालको सूचीमा पर्ने तालको चर्चा कम हुने गरेको छ । नेपालमा भाले बास्ने ताल कहाँ पर्छ ? लोकसेवा आयोगले लिने परिक्षा र सामान्य ज्ञानमा छ्यापछ्याप्ती भेटिने तालका बारेमा म्याग्दीका धेरैलाई जानकारी पनि छैन्।विद्यालयस्तरमा आयोजित हाजिर जवाफ प्रतियोगिता देखी लोकसेवा आयोगका प्रश्नमा समेटिएको ताल प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ ।

नेपालमा आर्कषक तालको सूचीमा तालको माथिल्लो भागमा रहेको मन्दिरमा बिहान भाले बास्ने समयमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । धामीझाक्रीले तालमा स्नान गरेर मन्दिरमा आएर पुजाआजा गर्ने र आफ्नो शक्ती प्राप्तीका लागि साँडेको बलि दिने गरिन्छ । ताल आसपासमा देवताको शक्ती रहेको धार्मिक विश्वास रहेको दुखुबेसीका ८९ बर्षिय धन बहादुर गुरूङले बताउँछन् । बाल्यकालमा जंगलमा पुग्दा भाले बासेको आवाज सुन्नले गाउँमा पुगेर सन्देश फैलाउने गरिन्थ्यो ।

पशुचौपाया लिएर त्यहाँ पुग्दा झरनाको फेदीमा निलो ताल तथा आसपासका क्षेत्रमा जंगली जनावर समेत भेटिने गरेको गुरूङको भनाई छ । ‘नयाँ पुस्ताले तालको महत्वलाई वास्ता गर्न छाडे,‘पहिले ताल नजिकको मन्दिरमा नियमित पुजाआजा हुने गर्दथ्यो’ गाउँकै जेष्ठ नागरिक समेत रहेका गुरूङ भन्छन् । बाल्यकालमा झरना र ताल आसपासमा पुगेर पुजाआजा र खोलामा नुहाएर फर्किने गरेको अनुभव गुरूङले सुनाउँछन् । ताल नजिकको जंगलमा भेटिने सुन्तला, उखु खाएर घर जाने गरेका गुरूङले त्यहाँको फलफुल घरमा लैजान नहुने धार्मिक विश्वास रहेको बताउँछन् ।

धामीझाँक्री र लामाले आफुँभित्र रहेको शक्तीलाई पुष्टी गर्न गाउँबाट खाली खुट्टा कठोर यात्रा गरी मन्दिरमा पुजाआजा र बली दिएर गाउँले समक्ष आफ्नो शक्ती प्रर्दशन समेत गर्ने गरेको बुढापाकाको भनाई छ । पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालसम्म पुग्न सजिलो हुने बाटो भत्किएपछि अहिले जोखिमपूर्ण यात्रा गरेर तालमा पुग्नुपर्ने स्थानीय नन्द प्रसाद रोका बताउँछन् । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ताललाई जोगाउन सरकारी निकायमा पहल गरिएपनि कुनैपनि सहयोग नभएपछि स्थानीयको प्रयासमा गरिएका अभियान प्रयाप्त नभएको रोकाको भनाई छ ।

तालको अवलोकन गर्न पुगेकाले प्रचारप्रसार गरेकै आधारमा वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थी र आन्तरिक पर्यटक पुग्ने गरेको बताउँदै पक्की पदमार्ग र पहाडबाट तालसम्म पुग्ने गोरेटो बाटो बनाउनुपर्ने स्थानीयको भनाई छ । गाउँकै बालबालिकाले समान्यज्ञानमा पढ्ने तालसम्म पुग्ने चाहना ब्यक्त गर्न छाडेको रोकाको गुनासो छ । स्थानीयले भालेबास्ने ताल आसपासका क्षेत्रलाई देवताको पहाडको रुपमा समेत चिन्ने गरेका छन् । जंगलभित्र रहेका नियालोको सहारामा आन्तरिक पर्यटकले आवतजावत गर्ने गरेका छन् । जंगलमा रहेको नियालो खान आउने बन्यजन्तुसंग धेरैपटक स्थानीयको जम्काभेट समेत भएको छ ।

तालसम्म पुग्न स्थानीयले नियालोलाई डोरी बनाएर पुग्छन् । पछिल्लो समय ग्रामिण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अतिस्त्व संकटमा पारेको छ । मालिका र रघुगंगा गाउँपालिकाको सिमानमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरसम्म पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी भाले बास्ने ताल जाने बाटोमा मन्दिर समेत बनाइएको छ । तालमा छिमेकी मंगला गाउँपालिका–२ खार्तुङखोला र दरुङ गाउँबाट समेत जान सकिन्छ । दुवै गाउँबाट भीरबाट जोखिम मोलेर आवतजावत गर्नुपर्छ । हरेक बर्ष फागुन देखी जेठसम्म विद्यालयको शैक्षिक भ्रमण तथा विदाको समयमा भ्रमणमा जाने गरेका छन् ।

गाउँपालिकाको पहिचानका रुपमा ताललाई चिनाउनु पर्नेमा स्थानीको जोड । आगामी आर्थिक बर्षमा तालको संरक्षण तथा पूर्वाधार विस्तारमा वडाले गाउँपालिकासंग बजेट माग गर्ने तयारी समेत भइरहेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको गाउँ समेत रहेको तल्लो दुखुका स्थानीयले पूर्वाधार विस्तारलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । गाउँपालिकाले समेत भाले बास्ने तालको पहिचानलाई जोगाउने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न ताल नजिक भालेको आकारको मुर्ती समेत राख्ने सोच बनाइएको छ ।

भाले बास्ने तालको इतिहास
गाउँका ९ भाई लाहुरे मध्ये एक जनाले भरिया लिएर तालको अवलोकन गर्न गएको अवस्थामा ताल नजिक दरबार जस्तै घरमा रात विताएर विहान ढुंगामा सुतेको अवस्थामा भेटिएको किम्बदन्ती रहेको छ । प्राकृतिक सौन्दयले भरिएको ताल नजिक आफ्नो भाकल अनुसार पुजाआजा गर्न गएका लाहुरे र भरिया भागेर आएपछि तालको प्रचारप्रसार गरेकै आधारमा तालको नामाकारण गरिएको बताइन्छ । लाहुरेले तालबाट फर्किएपछि लामो समयसम्म बली लिएर पुजा गर्ने गरेको भनाई समेत छ । एका विहानै नियमित भाले बासेको आवाज आसपासका बस्तीसम्म पुग्ने भनाई समेत भेटिन्छ ।

मन्दिर र ताल नजिक रहेका उखु र सुन्तला टिपेर लैजानको घरमा पुग्दा खोल्टी रित्तै हुने पुरानो भनाई छ । मन्दिर आसपासका रहेका रुखको विरुवा लिएर छिमेकी हाल मंगला गाउँपालिका–५ अर्मनमा लगाइएको अवस्थामा भेटिएपछि करिव १ सय बर्ष अगाडीसम्म नियमित पुजाआजा सहित तालको संरक्षण गर्ने गरिएको स्थानीय बुढापाको भनाईलाई उद्धित गदैं वडा अध्यक्ष सन्तनाथ जैशी ‘सन्तोष’ बताउँछन् । मन्दिरमा आफ्नो मनोकामना पुरा गर्ने, शैक्षिक, रोजगारी तथा सेनामा भर्ती हुनेले बली समेत दिन्छन् ।

तालमा कसरी पुग्ने ?
धार्मिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण रहेको सो तालमा पूजा आजा र भाकल गरेमा आफूले इच्छाइएको कुरा पूरा हुने भएकोले पनि दरवाङ तथा बावियौचारका स्थानीय मन्दिर सम्म पुग्ने गरेका छन् । विभिन्न जिल्लाबाट म्याग्दीको सदरमुकाम बेनीमा यातायातका साधनमा आएर बेनीबाट बेनी–दरवाङ सडकखण्ड अन्र्तरगत पर्ने सहस्रधारा, दुखुबेसीं, दरुङ गाउँबाट पुग्न सकिन्छ । बेनीबाट करिव दुईघण्टा सवारीसाधनमा सहस्रधार पुगिन्छ । त्यहाँ केही समय आराम गरी स्थानीय यूवाको पहलमा निर्मित बाटोबाट तालसम्म पुग्न सकिन्छ ।

नियालो र घाँसको सहायतामा आवतजावत गर्नुपर्ने हुन्छ । दरवाङको दुखुबेसी त्यहाँ पुग्ने छोटो दुरीको मार्ग मानिन्छ । तालमा पुग्ने मार्गमा संकेत चिन्ह नभएपनि ताल जाने सामान्य जानकारी भेट्न सकिन्छ । भाले बास्ने ताल र मालिका लगायत दुखु गाउँको धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारका लागि न्यु मालिका युवा क्लबले वृत्तचित्र र गीतको म्युजिक भिडियोबाट समेत प्रचारप्रसार गरिरहेको छ । करिव चार लाखको लगानीमा निर्मित वृत्तचित्र र म्युजिक भिडियोमा मालिका, भाले बास्ने ताल र दुखु गाउँको दृश्य समावेश गरिएकाले पनि प्रचारप्रसारमा सहज भएको क्लवले जनाएको छ ।