जल माफियाको घेराबन्दीमा रुप्से झरना

रूपवती युवतीले आफूले ओढेको च्यादर हावाले उडाइदिन लाग्दा जतन गर्न लागेजस्तो देखिने अपार प्राकृतिक सौन्र्दयतायुक्त रुप्से झरना मास्न जलविद्युत कम्पनीले झरनाबाटै विद्युत उत्पादन गर्ने चलखेल गरेका छन् । म्याग्दीको उत्तरी क्षेत्र अन्नपूर्ण गाउँपालिका ३ दानामा अवस्थित झरनाको शीर,बीच र बेनी जोमसोम सडकखण्डबाट तल्लो भागमा तीनवटा जलविद्युत आयोजनाले विद्युत उत्पादनका लागि सर्वे समेत गरेका छन् ।

दानाको शीरबाट छङछङ गदैं बग्ने कलकल झरनाको प्रचारप्रसार र पूर्वाधार विस्तारमा स्थानीयको प्रयासलाई रोक्न जलविद्युतका माफियाले झरनाबाट बग्ने पानीलाई बेचेर मनग्य आम्दानी गर्ने प्रयासमा स्थानीय जनप्रतिनिधिको समेत सहयोग देखिन्छ । झरनाको नजिक बग्ने कालिगण्डकी नदीलाई छोडेर जलविद्युतका कम्पनीले केही स्थानीयलाई प्रलोभनमा परी विद्युत कम्पनीलाई स्वागत गर्दछन्। म्याग्दी जिल्लालाई विश्वका कुनाकुनामा चिनाउने झरनालाई सिमित ब्यक्तिको कमाई खाने भाँडो बनाउने प्रयासमा जनप्रतिनिधिले समेत आफ्नो ओठ खोलेका छैनन् ।

झरनामा रहेका तीनवटा पोखरी मध्येका एउटालाई विद्युत माफियाले आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । वडा अध्यक्ष नरसिंहबहादुर पुर्जाले स्थानीयको सहमतिमा आफुँहरुले अनुमति दिएको दावी गर्नुभएको छ । निरन्तर बग्ने झरनालाई जलविद्युत माफियाले पहुँच र आर्थिक प्रलोभनबाट काम सुरू गर्दा समेत स्थानीय जनप्रतिनिधिलाई वास्ता छैन्, जिल्लाका नेता बोल्दैनन्, प्राकृतिक सौन्दर्यतालई निशुल्क बेचेर खान पल्किएका पर्यटन ब्यवसायीको समेत ध्यान जान सकेको छैन् ।

केहीलाई ठेक्कापट्टा तर झरनाका बारेमा बोल्नेहरूको आवाजलाई दबाबले पेल्ने प्रयास भइरहेको छ ।जलविद्युत कम्पनीको प्रतिस्पर्धाले झरना आसपासका महत्वपूर्ण पर्यटकीयस्थलहरु समेत प्रभावित क्षेत्र भन्दै कब्जामा लिएको छ ।
झरना, अन्धगल्छी र नारच्याङको भालेबास्नेसम्मको जमिनलाई विद्युत उत्पादनका लागि प्रयोग गर्ने गरी प्रभावित क्षेत्रको रुपमा राखिएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्न महत्वपूर्ण मानिएका ठाउँमा जल माफियाले पाइला राख्दा समेत स्थानीय सरोकारवाला निकाय चुपचाप छन् ।

रिर्चस एण्ड डेभलपमेन्टले झरनाको २० मिटर माथि पानी खसालेर ४ मेगावाट विद्युत उत्पादनको योजना बनाएको छ । डेभलपमेन्टले झरनालाई कुनै असर नगर्ने दावी गदै आइरहेको छ । तर,झरनाको माथिल्लो भागमा निर्माण सम्बन्धि गतिविधिले झरना भासिने सम्भावना देखिन्छ । हिमाली क्षेत्र हुदै बग्ने झरनाको आकार हेरफेर गर्दा झरना भासिने सम्भावना अन्य जलविद्युत आयोजनाको गतिविधिले समेत देखाइसकेको छ ।

बेनी–जोमसोम सडकखण्डबाट करिव ३० मिटर माथि रहेको एक पोखरीमा ड्याम बनाएर सुरूङ मार्गबाट विद्युत निकाल्ने प्रयासमा मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेड सक्रिय छ । यस्तै सडकखण्डको तल्लो क्षेत्रबाट गुल्मी हाईड्रो कम्पनी प्रालिले सर्वे सुरू गरेको छ ।झरनाबाट बगेर खेर गएको पानीलाई प्रयोग गर्ने बताइरहेपनि कम्पनीले आफ्नो प्रभावित क्षेत्र सहित निर्माणकार्यका बारेमा कुनै जानकारी गराएको छैन् ।

पुलबाट करिव ३० मिटर तलबाट उत्पादन गर्ने बताएपनि झरनाको अवलोकन गर्न आउने पर्यटकलाई असर गर्ने वा नगर्ने बारेमा कम्पनीले प्रष्ट बताएको छैन् । तीनवटै कम्पनी बीचमा प्रतिस्पर्धा देखिन्छ । रन अफदि रिभर प्रकारको आयोजनामा प्रति मेगावाट अन्य आयोजनाका तुलनामा सस्तो हुने भएकाले पनि झरनाबाट तिब्र गतिमा बग्ने पानीलाई प्रयोग गर्न खोजिएको छ । बि.श २०३० सालमा नेपालको हुलाक टिकटमा समेत प्रकाशित भएको झरनाको सुन्दरतालाई लुट्ने प्रयासलाई जनदवावबाट रोक्नु्पर्ने देखिन्छ ।