यस्तो पो वडा अध्यक्ष ! जनताको काममा तल्लिन पुनले आफ्नो ब्यवसायलाई छोड्दै

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित हुदाँ गाउँको विकासमा अपेक्षा गरे अनुसार काम नहुने धेरैको अनुमान थियो । जिल्लाका ठुला राजनीतिक दलका उम्मेदवारलाई समेत पराजित गदैं वडा अध्यक्षमा निर्वाचित भएका बेनी नगरपालिका–३ भकिम्लीका पदम पुन गाउँमा लोकप्रिय छन् ।

विहानै देखी बेलुकीसम्म जनताको सेवामा सक्रिय रहेका पुनले आफुँले सुरू गरेको बाख्रापालनलाई समेत समय दिन सकेका छैनन् । बेनी नगरपालिका भित्रका वडामा सबैभन्दा बजेट कार्यान्वयन तथा योजना सम्पन्नमा समेत भकिम्ली अग्रस्थानमा छ । वडाबासीको दैनिक काम, निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको २० कोठे भवनमा उनले धेरै समय खर्चनुपरेको छ ।

३ बर्ष अगाडी करिव १२ लाखमा स्थापना गरेको बाख्रापालन ब्यवसायलाई प्रयाप्त समय दिन नसक्दा पुनले बाख्रापालन नै छोड्न लागेका छन् ।‘मैले जनप्रतिनिधिको भूमिकासंगै बाख्रापालनलाई अगाडी बढाउन नसक्ने भएकाले संख्या घटाउँदै छु,‘आफ्नो कार्यकालमा भकिम्लीमा धेरै काम गर्नुपर्नेछ’ पुनले बेनीअनलाइनलाई भने ।जनताको प्रतिनिधिको भुमिका र ब्यवसायलाई संगसंगै लैजान समय ब्यवस्थापन गर्न नसकिने बताउँदै उनले खरी र उन्नतजातका ११० वटा बाख्रा मध्ये ८५ वटा विक्री गरिसकेका छन् ।

जनप्रतिनिधिको उपस्थिती जनताको आवश्यकता अनुसार हुने भएकाले पनि ब्यवसायमा ध्यान दिदाँ जनताले समयमै काम नपाउने उनको भनाई छ । जयन्ती माविको ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुनले २० कोठे भवन र खेलमैदान निर्माणका लागी स्वदेश तथा विदेशमा भइरहेको चन्दा संकलन अभियानका बारेमा जानकारी तथा भवन निर्माणमा समेत दैनिकजसो उपस्थिती हुने गरेका छन् ।

सदरमुकामबाट नजिक भएपनि राजनीतिक दलको उपेक्षाका कारण सडक, शिक्षा, पर्यटन लगाएतका क्षेत्रमा पूर्वाधार विस्तारमा प्रयाप्त ब बजेट विनियोजन हुन नसकेको गुनासो गदैं अध्यक्ष पुनले प्रवासमा रहेका भकिम्लीबासीले विद्यालयको भवनलाई १ करोड भन्दा बढी आर्थिक जुटाएर चुनौती दिएको समेत बताए । उनले बेनी–भकिम्ली सडक, स्वार्गाआश्रम, बेलढुंगा, सुन्तला र पशुपालनका क्षेत्रमा बजेट तथा अनुदानका लागि पहल भइरहेको बताए ।

तत्कालिन समयमा राज्य पक्षका सुरक्षाकर्मीको ज्यादतीले दुईबर्ष जेल जिवन विताएर ०६० सालबाट भुमिगत राजनीति गरेका पुन गाउँकै मुुसुङडोले आधारभुत विद्यालयका पूर्व शिक्षक समेत हुन् । पार्टीमा मगराँत राज्य समितिका सचिवालय सदस्य, जिल्लास्तरमा समेत पार्टीको महत्वपूर्ण पदको जिम्मेबारी सम्हालेका थिए । स्थानीय तहको निर्वाचनमा दलिय प्रतिस्पर्धामा जनताले स्वतन्त्त उम्मेदवारलाई जिताए पनि उनले सेवा प्रवाहमा समान ब्यवहार गर्ने गरेका छन भने गाउँस्तरमा हुने योजना बाँडफाँडमा समेत आवश्यक सहयोग लिने गरेका छन् ।