म्याग्दीमा धेरै रक्तदान गर्नेलाई सम्मान गरिने

विश्व रक्तदान दिवसको अवसरमा म्याग्दी जिल्लामा धेरैपटक रक्तदान गर्नेलाई सम्मान गरिने भएको छ । जिल्लामा ११ पटकभन्दा धेरै रक्तदान गर्ने रक्तदातालाई बिहिबार एक कार्यक्रम गरी माउण्ट एभरेष्ट आवासीय माविले सम्मान गर्ने भएको छ ।

साविकको धौलागिरी अञ्चलमा सबैभन्दा धेरै रक्तदान गर्ने जिल्लामा पर्न म्याग्दीमा रक्तदान अभियानलाई प्रभावकारी बनाउन विद्यालयले २०६५ भाद्र १९ देखी ०७५ जेठ २५ गतेसम्म धेरैपटक रक्तदान गर्ने सुरत केसी,विरेन्द्र श्रेष्ठ याम बहादुर शाक्य, चन्द्रकुमार केसी, हिक्मत श्रेष्ठ, हरि गिरी, राजु केसी, दिपक पौडेल र प्रकाश पौडेललाई सम्मान गर्ने जनाएको छ ।

मानवीय सेवाको नमुना उदाहरणको रुपमा चिनिने रक्तदान कार्यक्रम म्याग्दीका धेरै संघसंस्थाको रोजाईमा पर्ने गरेकाले पनि दिवस,उत्सव सहितका कार्यक्रममा रक्तदान गर्ने गरिन्छ । २०६५ सालमा जिल्ला अस्पताल परिसरभित्र स्थापन भएको रक्तसञ्चार केन्द्रमा बार्षिक २ सय ५० देखी ३ सय पिन्ट रगत संकलन हुने गरेको छ । म्याग्दी जिल्लामा बार्षिक १ सय पिन्ट खपत हुने र बाँकी बागलुङ, पर्वत र कास्कीमा पठाउने गरिएको नेपाल रेडक्रस अन्र्तरगत रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसीले बताए ।

जिल्लामा सबैभन्दा धेरै ३२ पटक रक्तदान समेत केसीले गरेका छन् । जिल्ला अस्पतालमा अप्रेसन सहितको प्रसुती सेवा सहित जटिल अप्रेसन समेत सुरु गरिएपछि रगतको खपत धेरै हुने गरेको छ ।आफ्नो जन्मदिन सहित सामाजिक कार्यमा समेत रक्तदान दिनेहरू बढेको अवस्थामा रक्तदान प्रति आम सर्वसाधारण सचेत भइरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।