रक्तदान गर्नेमा म्याग्दी नेपालमै नमुना जिल्ला

0

म्याग्दी जिल्लामा रगत अभावकै कारण पछिल्लो करिव एकदशक यता एकजना पनि ज्यान गुमाउनुपरेको छैन । सार्वजनिक कार्यक्रम, दिवस, उत्सव, जन्मदिन तथा विभिन्न सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । छिमेकी जिल्लाहरूमा समेत आवश्यक पर्ने रगत पठाउने मात्रै गरिएको छैन् राष्ट्रियस्तरबाट हुने कार्यसम्पादन मुल्याङ्कनमा समेत म्याग्दी उत्कृष्ट जिल्लाभित्र समावेश भएको पाइएको छ ।

जिल्ला अस्पताल भित्र नेपाल रेडक्रस सोसाईटीको मातहतमा रहेको रक्तसञ्चार केन्द्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको बाहिरी गुणस्तर कार्यसम्पादन मुल्याङ्कनका मापदण्ड समेत पुरा गरेकाले म्याग्दीले ९९ प्रतिशत अंक प्राप्त गरेको बरिष्ठ ल्याव प्राविधिक याम बहादुर थापाले बताए । ‘रक्तदानका लागि प्रतिस्पर्धा जस्तै हुन्छ,‘रगतको अभावले एकजनाले पनि ज्यान गुमाउनुपरेको छैन’ उनले भने । एचआईभी, हेपाटाइटिस् ‘बि’,हेपाटाईटिस ‘सि’ लगाएतको रगत परिक्षणमा समेत म्याग्दी अगाडी छ ।

मानवीय सेवाको नमुना उदाहरणको रुपमा चिनिने रक्तदान कार्यक्रम म्याग्दीका धेरै संघसंस्थाको रोजाईमा पर्ने गरेकाले पनि दिवस,उत्सव सहितका कार्यक्रममा गरिने रक्तदानको अभियानले समेत केन्द्रमा समेत म्याग्दीको प्रशंसा हुने गरेको छ ।वि. श २०६५ सालमा जिल्ला अस्पताल परिसरभित्र स्थापन भएको रक्तसञ्चार केन्द्रमा बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेको नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र संयोजक सुरत केसीले बताए । जिल्लामा सबैभन्दा धेरै रक्तदान गर्ने ब्यक्ति समेत रहेका केसीले रक्तदानका लागि साविकको धौलागिरी अञ्चलमा म्याग्दी अगाडी रहेको बताए ।

म्याग्दी जिल्लामा बार्षिक १ सय पिन्ट खपत हुने र बाँकी बागलुङ, पर्वत र कास्कीमा पठाउने गरिएको छ । जिल्ला अस्पतालमा अप्रेसन सहितको प्रसुती सेवा सहित जटिल अप्रेसन समेत सुरु गरिएपछि रगतको खपत धेरै हुने गरेको छ।

यसैविच रक्तदाताको संख्या बढेपनि रक्तसञ्चार केन्द्रमा उपकरणको अभावमा रगत सञ्चित गर्न समस्या भइरहेको छ । रगत सञ्चितका लागि आवश्यक पर्ने ब्याकअप अर्थात विद्युत नभएको बेलामा फ्रिज सञ्चालन गर्ने जेनेरेटरको अभावले रगत सञ्चित गर्न समस्या भएको हो । फ्रिजमा विद्युत कटौटी भएको बेलामा रगत भण्डार गर्दा रगत भित्र रहेका सेल्सहरू मर्ने भएकाले तत्कालै जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । केन्द्रमा रहेका तीनवटा फ्रिजमा ५० पिन्ट सम्म भण्डार गर्न मिल्छ ।