बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि पदमार्ग निर्माण गरिने भएको छ । बिहीबार म्याग्दी उद्योग वाणिज्य संघमा भएको सरोकारवालाहरुबीचको वैठकले पदमार्ग बनाउने निर्णय गरेको हो ।

बेनीबजारस्थित म्याग्दी नदीमाथि रहेको बेलिब्रिजदेखि लभ्लीहिलसम्म पुग्ने पदमार्ग निर्माण गर्न ५७ लाख रुपैयाँ बजेटको लागत स्टमेट तयार पारिएको छ । उक्त बजेट व्यवस्थापनका लागि बेनी नगरपालिकाले ५० प्रतिशत, प्रवासी नेपालीहरुको संस्था मोना आईइसीले ४० र म्याग्दी उद्योग वाणिज्य संघले १० प्रतिशत रकम बेहोर्ने निर्णय गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले जानकारी दिए ।

म्याग्दी भ्रमण वर्ष–२०७५ घोषणा भएको अवसरमा पर्यटकीयस्थल पुग्ने पदमार्ग निर्माणको पहल थालिएको उनले बताएका छन् । संघका महासचिव गौतमका अनुसार तत्कालै पदमार्ग निर्माणका लागि शिलान्यास गरिने र त्यसको लगत्तै निर्माणकार्य थालिने छ । सिमेन्टको प्लाष्टरसहित सिँढी बनाइने र दुवैतर्फ रेलिङ राखिने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

यसैगरी पदमार्ग निर्माणको व्यवस्थापनका लागि म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ । व्यवस्थापन समितिको उपसंयोजकमा मोना आईइसीका अध्यक्ष चक्र थापा, सदस्यहरुमा यामबहादुर खड्का, जीवनबहादुर विश्वकर्मा, कुविरकुमार श्रेष्ठ, बेलबहादुर कटुवाल, सुविन श्रेष्ठ, राजेश शाक्य, ध्रुवराज कार्की, अमर बानियाँ र लिलाराम गौतम सदस्य सचिव रहेका छन् ।

त्यस्तै समितिको संरक्षकमा नगर प्रमुख हरिकुमार श्रेष्ठ, सल्लाहकारमा उपप्रमुख सन्जु बरुवाल, वडा अध्यक्षहरु हिराबहादुर थापा, राजेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय प्रमोद श्रेष्ठ र सुर्यप्रसाद मर्सानी रहेका छन् । पदमार्ग निर्माणपछि म्याग्दी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लभ्लीहिल घुम्न, स्थानीयलाई मर्निङ वाक गर्न सहज हुनेछ भने जिल्लामा पर्यटकको समेत आगमन बढ्ने अपेक्षा गरिएको छ ।