विरेन्द्रचोकका दलप्रसाद श्रेष्ठ विहानै सरसफाईमा निस्कन्छन् । बिरामी अवस्थामा घरमै आराम गर्नुपर्ने समयमा पनि श्रेष्ठले हातमा कुचो लिएर सडकमा र नालीमा पसेर फोहोर उठाउने गर्दछन् । विहान देखी बेलुकीसम्म टोलको समस्यामा केन्द्रित हुने श्रेष्ठ विरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष समेत हुन् । उनको नेतृत्वमा टोलसुधार समितिले सरसफाई अभियान सुरु गरेको बषौं वितिसकेको छ ।

जिल्लामै नमुना र सकारात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेका श्रेष्ठले आफ्नो घरायसी कामलाई समेत छोडेर टोलको अभियानमा समय खर्चने गरेका छन् । दैनिक सरसफाई अभियान मात्रै नभई टोलमा सार्वजनिक खानेपानीको धारा, पुरानो चौतारी मर्मत, सहिद स्तम्भ सरसफाई, फुलको बगैचा, भाडामा बस्नेलाई स्वागत तथा विदाई, प्रमुख जिल्ला अधिकारी सहित सरकारी निकायका प्रमुखको स्वागत तथा विदाई, नियमित भेटघाट, ट्राफिक जनचेतनामुलक कार्यक्रम, ढल मर्मत तथा सरसफाई लगाएतका गतिविधि हुने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीको प्रशासनिक केन्द्र समेत रहेको विरेन्द्रचोकमा जिल्लामै नमुना टोल सुधार समितिको रुपमा देखिएको छ ।’टोलबासीलाई सरसफाई अभियानमा सक्रिय बनाउन म आफै अगाडी सर्ने गरेको छु,‘साप्ताहिक गरिने सरसफाईलाई दैनिक गर्ने गरेका छौ’ श्रेष्ठले भने ।

उनले घर र आगनमा रहेको फोहोर ब्यवस्थापनले मात्रै जिम्मेबारी पुरा नहुने भएकाले टोलका सार्वजनिकस्थ वरिपरीको फोहोर, नाली, बाटोघाटो,मा हुन फोहोर ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।‘विरामी भएर उपचार गराउँदा समेत टोलमा फोहोर भएको चिन्ता हुन्छ,‘टोलबासीले आर्थिक जुटाएर धेरै काम गरेका छौ’ श्रेष्ठले भने ।उनले टोलमा भाडामा बस्ने र घरबेटी बीचको सम्बन्धलाई समेत बलियो बनाउन स्वागत तथा विदाई कार्यक्रम गर्ने गरिएको बताए ।

टोलसुधार समिति गठन भएको करिव तीनबर्षमा सरकारी सहयोग विनै टोलबासीबाट सहयोग जुटाएर ढल मर्मत समेत गरिएको छ भने एक लाख ९५ हजार ४३ रुपैयाको लागतमा युरो गार्ड जडान गरी निशूल्क शुद्ध खानेपानी सुबिधाको व्यवस्था मिलाएको छ ।जिल्ला प्रशासन कार्यालय अगाडी रहेको खानेपानीको सुविधाले धेरै राहत मिलेको छ । बेनी नगरपालिका अन्र्तरगत गठन भएको टोल सुधार समितिमा नमुना टोलको रुपमा सम्मानित समेत भएको टोलबाट धेरै सिक्न सकिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको भनाई छ ।‘जागिरको सिलसिलामा धेरै जिल्लामा पुगे,‘यहाँको जस्तो सक्रिय टोलसुधार समिति देखिन’ अधिकारीले भने ।

आफ्नै निवास तथा कार्यालय पर्ने भएकाले पनि दैनिकजसो टोल सुधार समितिको गतिविधिलाई नजिकबाट हेर्ने गरेको बताउँदै घरायसी काम भन्दा पनि टोलको कामलाई धेरै समय दिने गरेको पाइएको प्रजिअ अधिकारीको भनाई छ । टोलमा हुने सरसफाई सहितका अभियानलाई अन्य टोलबासीले समेत सिक्नुपर्ने उनको भनाई छ । बेनी नगरपालिका अन्र्तरगत बनेका टोल सुधार समितिलाई नगरपालिकाले प्रयाप्त बजेट विनियोजन गर्न सकेको छैन् । नगरपालिकाले आवश्यकता अनुसारको बजेट विनियोजन नगर्दा टोलसुधार समितिले टोलबासीबाट आर्थिक जुटाएर काम गर्ने गरेका छन् ।