सडक खन्दा ऋणमा डुबे नारच्याङबासी (भिडियो)

0

नारच्याङका सोमप्रसाद पु्र्जाले घाँटीको सिक्री, औठी गरी सुन राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे ।मजदुरको ज्याला समेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतिको सुनलाई धितो राखेर ज्याला दिए ।

पटक–पटक सम्पन्न निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका उम्मेदवारले सडक विस्तारमा बजेटको प्रतिबद्धता जनाएपछि ऋणधन गरेर सडक विस्तारमा कस्सिएका नारच्याङबासीले प्रतिबद्धता पुरा नभएपछि ऋणमा चुर्लुम्मै डुवेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेसीबाट लेकगाउँ जोड्ने बेसी–लेकगाउँ मोटरबाटोमा राजनीतिक दलका र निर्वाचिन जनप्रतिनिधिको आश्वासन पुरा नहुदाँ स्थानीयबासीले तीनबर्ष अगाडी सुरू गरेको सडक निर्माणकार्य अलपत्र परेको छ । बेसीबाट लेकगाउँका जनतालाई सहज आवतजावत गर्न स्थानीयले चन्दा सङ्कलन गरेपनि प्रयाप्त नभएपछि सडक अलपत्र परेको निर्माण समितिका अध्यक्ष पुर्जाले बताए।‘सडक विस्तारमा लागेको ऋण तिर्न मैले सुन समेत धितो राखेको छु,‘बजेट छुट्टियो भनेर काम सुरु गरियो, पछि बजेट सुको आएन’ पुर्जाले भने ।ब्यक्तिगत रुपमा लिइएको ऋणको ब्याज बढिरहेको बताए ।

उनका अनुसार दोस्रो संविधान सभा,स्थानीय तहका निर्वाचनमा बजेटका आश्वासन देखाएर भोट माग्ने नेताहरू गाउँमै आउन छाडेको गुनासो समेत गरे।‘मजदुरको पैसा समेत तिर्न सकिएको छैन्,‘सडक अलपत्र पर्दा लेकगाउँबासीलाई सास्ती भएको छ’ पुर्जाले भने ।करिव ६ सय घरधुरी रहेको लेकगाउँ आलु खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।

करिव दुई किलोमिटर सडक विस्तारमा स्थानीयले बर्षेनी दुई लाख, तीन लाख प्राप्त गरिरहेको अवस्थामा चालु आर्थिक बर्षमा वडाबाट १० लाख बजेट विनियोजन भएको छ । तत्कालिन जिविसबाट ६ लाख, पूर्व सांसद रेशम बहादुर बानियाँको कोषबाट ३ लाख प्राप्त भएपनि अझै करिव १० लाख पुरानो ऋण रहेको उपभोक्ता समितिको भनाई छ । पुरानो ऋण चुक्ता नगरी सडक विस्तारको सम्भावना नभएकाले समितिको भनाई छ ।गाउँसम्म सडक पु¥याउन कडा चट्टान फोर्नुपर्ने भएकाले पनि करिव २ करोड लागत अनुमान गरिएको छ ।

मिस्त्रीखोला जलविद्युत आयोजनाले बेसीगाउँ माथिसम्म सडक विस्तार गरेको छ। लेकगाउँबाट उत्पादन हुने अर्गानिक तरकारीलाई निर्यात, अन्नपूर्ण बेस क्याम्प र खोपा लेक जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने स्थनीय टेक पुनले बताए ।‘सडकको प्रतिक्षामा स्थानीयले कठोर जनश्रमदान गर्न तयार छन्,‘चुनावमा देखिने नेताहरु अरु बेला गाउँमै फर्किनन्’ पुनले भने । नारच्याङ पर्यटकीय गन्तब्य भएकाले पनि सडक सञ्जालको आवश्यकता रहेको बताए । जिल्लाका ग्रामिण क्षेत्रमा सडक सञ्जाल विस्तारमा आवश्यकता अनुसारको बजेट नहुदाँ स्थानीयले आफ्नो खेतबारीको लालपुर्जा समेत धितो राखेर लगानी गर्ने गरेका छन् ।