‘अब म आमाबुबाको आँसु रोक्न पनि विदेश जान्न’ (भिडियो)

0

एकदशक आसपासमा तीन छोरालाई रातो बाकसमा अन्ति अनुहार हेरेकी मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति रोकाले साहिला छोरा थम बहादुरलाई विदेश जान रोकिन् । रोजगारको सिलसिलामा खाडीमुलुकमा धनसम्पत्ती कमाउन पुगेका तीन छोरा बाकसमा बेरिएर घरमा आएपछि आमा लीलमति र पिता धन बहादुरको आँखा अझै रसाइरहेका छन् । बैदेशिक रोजगारको सिलसिलामा धनबहादुर र लीलमतिका ४ भाइ छोरा मध्ये १२ बर्ष अगाडी माहिला भक्तबहादुरको कतार, जेठा छोरा भक्त बहादुर मलेसिया र कान्छा छोरा धर्मको गत चैत्र महिनाको ११ गते मलेसियामै ड्युटीमा मृत्यु भएको थियो ।

दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डिट्युटीमै मृत्यु भएपछि रोका परिवारको आँखा ओभाएको छैन । थम बहादुरलाई दैनिकजसो आफ्नै अगाडी देख्न चाहन्छन् ।‘आमाबुबाले विदेश त्याग्न पटकपटक अनुरोध गर्नुभएको छ,‘परिवारको अनुरोधमा मैले अव विदेश नजाने निधो गरेको छु’ थमबहादुरले बेनीअनलाइनलाई भने । आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदाको पीडालाई लुकाउन समेत गाउँमै बाख्रा, कुखुरापालन गर्ने सोच बनाएको थमबहादुरको भनाई छ ।

‘म बिदेश जाँदा आमाबुबाको आँसु रोकिन्न,‘विदेशी भूमिको नाम पनि सुन्न चाहनुहुन्न’ उनले भने । घरायसीको कामको सिलसिलामा आमाबुबासंगै बेनी आएका थमबहादुरले आफ्नो भविस्यका योजना सुनाउँदै गाउँघरमै रोजगारीका लागि गाउँकी अगुवा एवम् इजरायलमा रहेकी विष्णु पुन मगरले समेत सहयोग गरिरहेको बताईन् । ‘अव गाउँमै बस्नुपर्छ,‘विदेश जाँदा आमाबुबाको आँसुको धारा बग्छ’ इजरायलबाट विष्णुले समेत यस्तै गरेर सम्झाउँछन’थमबहादुरले भने ।

उनले बाख्रापालनका लागि सीपमुलक तालिम तथा अनुदानको आवश्यकता रहेको बताए । प्यारालाइसेसबाट ग्रस्त ७२ वर्षिय बुबा धनवहादुर र पेट र मुटुकी रोगी ६८ वर्षिया आमाको नियमित उपचारमा समेत समय दिनुपर्ने उनको भनाई छ । आर्थिक अवस्था कमजोर भएपनि रोजगारीका लागि गाउँ छोड्न नसक्ने उनको भनाई छ । ‘तीन दाजुभाईको सम्झनामा अझैपनि आमाले विलौना गर्नुहुन्छ,‘आमाबुबाको आँखामा आँसु नदेख्ने गरी काम गरिरहेको छु’ उनले भने । स्वदेश तथा विदेशबाट प्राप्त आर्थिक सहयोगलाई आमाबुबाको उपचार तथा घरायसी खर्चमै प्रयोग गरिरहेको उनले बताए । उनले बैदेशिक रोजगारमा ज्यान गुमाएकाको परिवारलाई सरकारले अनुदान सहित स्वरोजगारमुलका कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिए ।