गाउँमा बालबालिका सक्रिय भएमा विकृति–विसंगतिको अन्त्य गर्न सहज हुने मंगलबार मालिका गाउँपालिका–५ देविस्थानमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । सामाजिक विकृतिलाई निरुत्साहित गदैं रचनात्मक गतिविधिमा बालबालिकाको सक्रियतालाई प्रभावकारी बढाउन गठन गरिएको बताउँदै बालक्लवको अगुवाइमा बालबालिकाको हकहित, बालबिबाह, बालहिंसा, लागुपर्दाथ दुब्र्यसनी विरुद्धको अभियान लगाएत समाजमा समस्यामा रुपमा देखिएका गलत संस्कारलाई तोड्नुपर्नेमा जोड दिइएको थियो ।

भिम मावि देविस्थानमा स्थानीय बालक्लव, सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी आयोजित बालअधिकार, बालविवाह, लागुपर्दाथ दुब्र्यसनी तथा भित्रे पत्रिकार सम्बन्धि दुईदिने तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष पिपला बुढाले बालक्लव स्थानीय सरकारको सहयोगी भएको बताउनुभयो । ‘बालक्लव सक्षम भए गाउँलाई सभ्य बनाउन सकिन्छ,‘वडाबाट बालबालिकालाई लक्षित गरी योजना बनाइरहेका छौ’ बुढाले भन्नुभयो ।

उहाँले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गठित बालक्लव, जुनियर रेडक्रस सर्कलको सहकार्यबाट आफ्नो घरबाटै बाल अधिकारको सुरक्षा सहितका अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । भिम मावि देविस्थानका प्रधानध्यापक डम्मर बहादुर घर्तीले वडामा रहेका बालक्लवको सक्रियतामा देविस्थान बाल बुलेटिन प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभयो । तालिम समापनको अवसरमा पत्रकार हरिकृष्ण गौतम, सहभागिको तर्फबाट कञ्चन सेन्चुरी,पिमराज भण्डारीले मन्तब्य राखेका थिए ।

मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा भिम मावि,सृजनशिल बालक्लवको आयोजनामा सञ्चालित तालिमको सहजिकरण पत्रकार हरिकृष्ण गौतम, बाल सञ्जाल म्याग्दीकी सचिव रञ्जना श्रेष्ठ, सुसन बराइलीले गरेका थिए । तालिममा भिम मावि, गौगमबस्त मावि, मालिका, प्रतिनरमा, सरस्वती र लक्ष्मी आधारभुत विद्यालयका ६८ जना विद्यार्थीको सहभागिता रहेको थियो । तालिमको अध्यक्षता सुजन फगामी, सञ्चालन अमृता पुनले गर्नुभएको थियो । तालिममा कार्ययोजना तथा बालबालिका विरुद्ध गतिविधि भएमा तत्काल उजुरी सहित दवावमुलक कार्यक्रम गर्ने प्रतिबद्धता सहभागिले गरेका थिए ।