हराउँदै गए सारङ्गी रेट्दै जनताका गीत गाउँने गन्धर्व दाइ

0

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।।
कल्ले के गर्छ ? । पायसी सवैले आफ्नै पेट भर्छ ।।

गुल्मीको वडागाउँ घर वताउने ५७ वर्षिय दिलवहादुर गन्धर्वले सारङी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरंजामा धेरैका आँखा रसाए । २०३५ सालमा १७ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी १ छोरा, एक श्रीमती छन् । परिवारको हातमुख जोड्नकालागि सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीत मार्फत आफ्नो दुखोसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर वरङ्जाकी सुमित्रा सापकोटाले एक सय रुपैंया र तीन माना चामल दिदा गन्धर्वको अनुहार खुसीले भरीयो ।

कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दा लड्दै विरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाईने दाइ हिजोआज देखिन छाडेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारे लगायतका भाखामा खबर दिदै घुम्ने गाईने दाइ (गन्धर्वहरु) लोप हुँदैछन् । सारङगीको धुनमा घटनाक्रमहरुलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसुचित बनाउने गाईने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।

सूचना र संचारको पहुचसंगै ग्रामिण क्षेत्रहरुमा समेत पाश्चात्य गीत संगीतको प्रभाव वढ्दै गइरहेको वेला कहिलेकाही गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरु हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथीतिका गीतहरु समेत गाउन थालेका छन् ।

वदलिदो समयसंगै नयाँ पुस्ता पाश्चात्य गीत संगीतमा झुम्न थालेपछि हो वा पुख्यौंली पेशावाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोली गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्वहरु क्रमश घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरुले वदलिदो समयसंगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।

धेरै समयपछि बेनपा २ बगरफाँट र मंगला ४ वरङजामा भेटिएका दिलवहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकाले पुख्यौंली पेसालाई अपनाउनु आफ्नो वाध्यता भएको दुखेसो पोख्दै सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरुप्रतिको अपेक्षाका वारेमा ¥याइ¥याइ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गर्नुभयो ।

गुल्मीदेखि वागलुङ हुँदै म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरुदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता,तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शव्दमा जनताले वुझ्नेगरी व्यक्त गर्नुभएको थियो ।

सूचना र संचारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र संचार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोवाईल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाईने खवरमुलक मर्मस्पर्शी ह्दय विदारक गीत गुञ्जन छाडेका छन् ।
गाउँगाउँमा खबर सुनाउँदै हिड्ने गाईने दाइको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेसालाई निरन्तरता दिदै जीवनयापन गरेका छन् केही गन्धर्वहरुले । गुल्मी जिल्ला गडगाउँ गाविस–५ घरभई (हाल बागलुङ नगरपालिका– २ बस्ने) टोपबहादुर गन्र्धवले परम्परागत जातीय पेसाबाट आफ्नो ४ जना परिवारको गर्जाे टार्ने गरेका छन् ।

काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारङ्गी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक ५÷७सय रुपैयाँ आम्दानी हुने वताउनुहुन्छ । सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामाग्रीको सुलभ उपलब्धताले सारङ्गीको महत्व ह्वात्तै घटेको छ’ टोपबहादुरले भन्नुभयो– ‘संचार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । संचार माध्यमहरुले सारङ्गीको महत्वलाई उचित स्थान नदिए सारङ्गी नै लोप हुनेछ ।’ ‘कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन’–गन्धर्वले भन्नुभयो– ‘यसको संरक्षण र सम्वद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।’

नेपाली संस्कृतिको महत्व र विरताको गाथा बोकेको सारङगीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । सांगीतिक कक्षाको पाठ्यक्रममा सारङगी बाजालाई समावेश गरे सारङगीले जिवन्तता पाउने बुद्धिजीविहरुको भनाइ रहेको छ । युवा वर्गमा जातीय पेशा प्रति हिनतावोध र वैदेशिक रोजगारको प्रतिष्पर्धाले गन्र्धव पेसा संकटमा पर्दैगएको बताइएको छ । ———