म्याग्दीको सदरमुकाम बेनीबाट प्रहरीले गाँजा सहित दुई यूवालाई पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरीले बेनी नगरपालिका–८ कालिपुलबाट कालिपुलका १८ बर्षिय म्याक्सी राम्जाली, क्याम्पसचोक बस्ने २६ बर्षिय गणेश पाईजालाई ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

प्रहरीले शंकास्पद रुपमा हिड्डुल गरिरहेका राम्जाली र पाईजालाई नियन्त्रणमा लिएर खोजतलास गर्दा राम्जालीले पछाडी बोकेका कालो लेदरको ब्यागबाट डाँठ सहित गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बताए ।उनका अनुसार गाँजा सहित नियन्त्रणमा लिएका यूवालाई थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले केही दिन अगाडी मालिका गाउँपालिकाको रुपमबाट चरेस सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

सदरमुकाम बेनीमा लागुपर्दाथ दुब्र्यसनी विरुद्धको अभियानलाई तिब्रता दिएको प्रहरीले लागुपर्दाथ सेवन गर्ने यूवाहरुलाई भेला गरेर समेत प्रशिक्षण दिएको थियो । प्रहरीका अनुसार सदरमुकाम बेनीमा लागुपर्दाथ दुब्र्यसनी तथा ओसापोसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ । जिल्लामा खेतबारी तथा भीरपाखामा उम्रिएका गाँजालाई बिक्री गर्ने गरेका छन् । प्रहरीले ब्यवसायिक गाँजा खेती गर्नेको खोजीकार्य भइरहेको जनाएको छ ।