महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले नागरिकको घरदैलोमै स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउने गरी काम गरेको बताईन् । समाजकल्याण परिषद अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले शनिबार म्याग्दीको बेनीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवालाई सम्बोधन गर्दै उनले सर्वसाधारणहरुले सरल र सहज तरिकाले स्वास्थ्य सेवा पु¥याउन प्रतिबद्ध रहेको बताईन् ।

‘दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउनका लागि निःशुल्क शिविर आयोजना गरिएको छ,‘घरघरमा स्वास्थ्य सेवा पु¥याउन अहिलेको सरकारले आफ्नो नीति तथा कार्यक्रममा व्यवस्था गरिसकेको छ’ उनले भनिन् । गाउँगाउँमा स्वास्थ्य सेवा लैजान आगामी दिनमा ठोस खालका कार्यक्रमहरु सञ्चालन गरिने भन्दै उनले स्थानीय तहहरुले स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम गर्नुपर्ने बताईन् ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर गाउँपालिकास्तरमा स्वास्थ्य शिविरहरु चलाइने उनको भनाई छ । समृद्ध मुलुक स्थापना गर्न सरकारले सर्वसाधारणहरुको स्वास्थ्यलाई विशेष ध्यान दिएको बताउँदै मन्त्री थापाले दुर्गम तथा विकट क्षेत्रका स्थानीयमा स्वास्थ्यको पहुँच बढाउन विभिन्न किसिमका गतिविधिहरु सञ्चालन हुने बताईन् । सरकारले नीति तथा कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुका लागि एकलाख रुपैयाँसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरेकाले सरकारी स्वास्थ्य संस्थामा ज्येष्ठनागरिक लक्षित छुट्टै उपचार कक्षको स्थापना गरिने मन्त्री थापाको भनाई छ ।

मन्त्री थापाले आगामी पाँच वर्ष भित्रमा देशबाट बेरोजगारको अन्त्य गर्ने सकारको लक्ष्य रहेको भन्दै स्वरोजगारमूलक कार्यक्रम सञ्चालनका लागि बजेट, नीति तथा कार्यक्रमबाट सम्बोधन गरिएको दावी समेत गरिन् । उनले समाजमा घट्ने लैङ्गिक एवं घरेलु हिंसा अन्त्य गर्न महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउनुपर्ने बताउँदै आर्थिक उपार्जनका क्षेत्रमा संलग्न गराउनुपर्ने आवश्यकता रहेको बताईन् ।मन्त्री थापाले मुस्ताङको कोबाङदेखि उपचार सेवा लिन आएकी सतलदेवी पुनलाई नामदर्ता कागज हस्तान्तरण गरेर शिविरको शुभारम्भ गरेकी थिईन् । शिविरमा बालरोग विशेषज्ञ डा. नवराज सुवेदी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले उपचार सेवा दिएको थियो ।

स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको शिविरमा म्याग्दीसहित मुस्ताङ र पर्वत जिल्लाका ३ सयबढी बिरामीहरुले सेवा लिएका थिए ।स्वास्थ्य सेवा कोषका अध्यक्ष हुमबहादुर बरुवालको अध्यक्षता, नगरपालिका उपप्रमुख सन्जु बरुवालको स्वागत र स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा शिविरको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । जिल्लाको मालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा शिविर सञ्चालन गरिएको थियो । शिविरबाट १ हजारभन्दा बढी लाभान्वित भएका छन् । शिविरको आर्थिक ब्यवस्थापन गाउँपालिकाले गरेको थियो ।