जिल्ला स्वास्थ्य कार्यालयले बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित बृद्धआश्रमका बृद्धबृद्धाको स्वास्थ्य परिक्षण तथा फलफुल वितरण गरेको छ । आइतबार आयोजित शिविरको उद्घाटन गदैं प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जेष्ठ नागरिक समाजमा सम्पत्ती भएकाले आश्रमभित्र रहेका बृद्धबृद्धालाई गास,बास र कपासको समस्या हुन नदिने बताए । ‘यहाँको बृद्धआश्रम धेरै ब्यवस्थित देखिन्छ,‘आफ्नै घरमै बसेको महसुस दिलाउनुपर्छ’ प्रजिअ अधिकारीले भने ।

उनले बृद्ध अवस्थामा स्वास्थ्यमा समस्या देखिने भएकाले पनि आश्रम नजिक रहेको प्राथमिक स्वास्थ्य चौकीमा बृद्धबृद्धाका रोगको पहिचान गरी औषधीको ब्यवस्था गर्नुपर्नेमा जोड दिए । शिविरमा आश्रममा बसोबास सहित गलेश्वरका जेष्ठ नागरिक गरी ९२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियोे । बृद्धआश्रममा रहेका बृद्धबृद्धामा सुगर, प्रेसर, पिसावमा खरावी, हाडर्जोनी, नसाको समस्या अत्याधिक रहेको बताइएको छ ।

शिविरमा डा.विराट शर्मा, मनु विक, जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले चेकजाँच गरेका थिए । बृद्धबृद्धालाई चेकजाँच सहित औषधी समेत वितरण गरिएको बताउँदै समस्या समेत पहिचान भएकाले आगामी दिनमा नियमित उपचारका लागि सहज भएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताए । शिविरको अवसरमा बृद्धबृद्धाका अन्य समस्या र आवश्यकताका बारेमा समेत बुझ्ने प्रयास गरिएको थियो । शिविरको अध्यक्षता वडा अध्यक्ष बेल बहादुर चोखाल, सञ्चालन जनस्वास्थ्य अधिकृत आचार्य र कार्यक्रमका बारेमा बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले जानकारी गराएका थिए ।

सदरमुकाम बेनी नजिक भएपनि जटिल समस्या हुदाँ बाहेक इकाईमै उपचार गर्ने गरेको अवस्थामा शिविरको सञ्चालन गरिएकोमा आश्रमका बृद्धबृद्धा उत्साहित भएका थिए । शिविरमा प्रहरी नायव उपरिक्ष बीर बहादुर बुढामगर, बेनी अस्पतालका अध्यक्ष माधव प्रसाद रेग्मी, कोष नियन्त्रक छविन्द्र बेलबासे, अनुसन्धान प्रमुख अर्जुन शर्मा लगाएतको उपस्थिीत रहेको थियो ।