बेनी-भकुण्डे मोटरबाटो : ट्याक खुलेको ८ वर्ष पछि पनि उस्तै हाल

0

बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी—भकुण्डे मोटरबाटो ट्याक खुलेको ८ वर्ष वितिसक्दा पनि यातायाताका साधनहरु चल्ने बन्न सकेको छैन ।

२०६७ सालमा ट्याक खुलेको, साढे ७ किमि दुरीको बेनी—भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं रुपैयाँ खर्च गरिएको भएपनि न त्यो सडकमा यातायातका साधनहरु संचालन हुन सकेका छन् न सडक मर्मत कार्यप्रति स्थानीय र जनप्रतिनिधिहरु नै सन्तुष्ट हुन सकेका छन् । सडक मर्मतका नाममा खर्च भएको लाखौं रकम बालुवामा पानी हाले जस्तै भएको स्थानीयको गुनासो रहेको छ ।

पटक पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिएपनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधनहरु संचालन हुन नसकेका स्थानीयवासिन्दाहरुको भनाइ रहेको छ ।

‘नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दीगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्,खाली बजेट सक्ने काममात्र भयो बाटोको स्थायित्व भएन’ साविकको ज्यामरुककोट गाविस वडा नं ८ का भूतपूर्व वडाअध्यक्ष समेत रहेका कृष्णवहादुर सुवेदीले भन्नुभयो ।

सुवेदीका अनुसार बेनीदेखि भकुण्डेसम्मजानका लागि सल्लेनधारासम्म ४ वटा बाटा बनाइएको भएपनि कुनै पनि कामलाग्ने अवस्थामा छैनन् । बेनी—ठूलोगैरा—रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँद समेत बाटो विग्रने गरेको छ । सुवेदीले भन्नुभयो । २०६७ सालयता बेनी भकुण्डे सडकमा करिव ७० लाखको हाराहारीमा बजेट खर्च भैसकेको छ । बजेट त सकियो तर सडकको अवस्था भने ज्यूँको त्यूँ रहनुले स्थानीयहरु सरोकारवालाहरुसंग यो सडकको अवस्था कहिले सुध्रन्छ भनेर प्रश्न गरिरहेका छन् ।

चालु आर्थिक वर्षमा बेनी—वौर—ठूलोगैरा—खवरा (विरायचौर)—भकुण्डे सडक उपभोक्ता समिति,बाङ्गघरा—पिपलडाँडा—भीरकुना—भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा—खवरा—भकुण्डे सडक उपभोक्ता समितिको गरी कुल २६ लाख ५० हजार रुपैयाँ खर्च गरी मर्मत गरिएको बेनी—खवरा—भकुण्डे सडकमा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । सामान्य पानीपर्दा पनि सडक पानीले बगाउने गरेको छ । ‘कुखुरालाई चारो हाले जस्तो गरी वर्षैपिच्छे थोरै थोरै मात्र बजेट आउने र सो बजेटले सडक मर्मतको थोरै पनि काम नहुने समस्याले गर्दा पनि सडक सवार चल्न लाएका बन्न नसकेको’ बेनपा २ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेल बताउनुहुन्छ ।

बेनीदेखि भकुण्डे वडा कार्यालयसम्म जोड्ने मोटरबाटो संगै अन्य दुइवटा मोटरबाटोको अवस्था पनि फरक नभएको पाइएको छ । बेनी—ठूलोगैरा—विरायचौर—भकुण्डे,बाङ्गेघरा—पिपलडाँडा—भिरकुना—भकुण्डे र ठूलोगैरा—खवरा मोटरबाटो उपभोक्ता समिति मार्फत बेनी—खवरा—भकुण्डे मोटरबाटो मर्मतको काम हुने गरेको छ । तीनवटा सडकका लागि छुट्टाछुट्टै ३ वटा समितिहरु पनि गठन भएका छन् । तर तीनवटै समितिका अध्यक्ष भने शिवजी सापकोटा नै हुनुहुन्छ ।

तीनवटै उपभोक्ता समितिका अध्यक्ष सापकोटाले सडक मर्मतको काम राम्रोसंग भएको, आर्थिक हिनामिना नभएको बताउँदै पानी परेर सडक बगाएकोले यातायातका साधनहरु संचालन हुन नसकेका प्रतिक्रिया दिनुभयो । अध्यक्ष सापकोटाले भन्नुभयो ‘बेनी—भकुण्डे सडकमा चल्ने सवारी साधन नै भएनन्,भकुण्डेबाट जीप बेनी आउनै मान्दैनन,बेनीबाट पनि भकुण्डे जाँदैनन् ।’

उपभोक्ता समितिका अध्यक्षको यो भनाइले पनि सडकको अवस्था कस्तो छ त भन्ने बुझाउँछ ।साथै,सडक केका लागि भन्ने पेचिलो प्रश्न पनि उब्जन्छ । त्यति धेरै खर्च गरेर बनाइएको सडकमा यातायातका साधनहरु चल्न नमान्नुको कारण खोतल्दै जाने हो भने अन्ततः सडकको दयनीय अवस्था र जोखिम नै मुख्य कारण देखिन्छ ।

सर्वसाधारण जनता मात्रै होइन बेनी — भकुण्डे सडकको अवस्था र उपभोक्ता समितिको कार्यप्रति जनप्रतिनिधि समेत सन्तुष्ट छैनन् । ‘खबरादेखि माथिको खण्डको सडकको अवस्था राम्रो छ र काम पनि चित्त वुझ्दो गरी भएको छ’ बेनपा २ का वडाअध्यक्ष हिरावहादुर थापाले भन्नुभयो ‘तर खवराको खण्ड (साइड)मा भएको कामप्रति म पनि सन्तुष्ट छैन ।’
त्यसैगरी बेनी नगरपालिका भित्रका सवै वडाहरुका योजना अनुगमनको जिम्मेवारी पाउनुभएकी बेनी नगरपालिकाका उपमेयर एवम् योजना अनुगमन संयोजक सञ्जु बरुवालले बेनी—भकुण्डे सडकको अवस्था र काम गराइ मलाई पनि चित्त बुझेको छैन, राम्रोसंग अनुगमन गर्नुपर्ने देखिएको छ ।