मुक्तिधाम माविका अनुपमले ल्याए ३.९० जिपीए

विद्यालयमा कहिल्यै पनि दोस्रो भएनन् अनुपम कटुवाल । कक्षा एकदेखी १० सम्म सधै पहिलो स्थानमा नै आउने रघुगंगा गाउँपालिका २ भगवतीका कटुवालले शनिबार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा जिल्लाका सामुदायिक विद्यालयमै उत्कृष्ट जिपीए ल्याउने विद्यार्थी बने । गाउँकै मुक्तिधाम माविबाट परिक्षामा सहभागि भएका कटुवालले ३.९० जिपिए ल्याएर जिल्लामा दोस्रो उत्कृष्ट जिपीए ल्याउने विद्यार्थी भए ।

बाल्यकाल देखिनै पढाईमा अब्बल रहेका कटुवाल विद्यालयकै इमान्दार, मेहनती विद्यार्थी समेत हुन् । शिक्षा संगै खेलकुद, अतिरिक्त क्रियाकलापमा समेत रुची रहेका कटुवालले स्कुले जीवनमा रिजल्ट आउँदा सधै हातमा पुरस्कार लिएर घरमा जान्थे । उनले विद्यालयको आन्तरिक तथा जिल्लास्तरीय परिक्षामा कहिल्यै पनि निराश नतिजा ल्याएनन् । नेपाली र सामाजिक विषयमा ए ग्रेड ल्याउँदा ४ जीपिए ल्याउने उनको धोको अधुरो भएको छ ।

‘नेपाली र सामाजिक विषयमा मैले अपेक्षा गरे अनुसारको नतिजा ल्याउन सकिन,‘जसले मलाई नतिजामा खुम्चिन बाध्य बनायो’ कटुवालले बेनीअनलाइनलाई भने । नेपाली र सामाजिक विषयमा मेहनत अनुसारको नतिजा आएको भए ४ जीपिए ल्याएर विद्यालयको शीर समेत उच्च बनाउन सकिने अवस्था भएपनि केही असान्र्दभीक प्रश्नले सामाजिकको नतिजामा असर गरेको बताए ।

‘विज्ञान विषय लिएर आफ्नो लक्ष्य प्राप्ती गर्नेछु,‘उच्चमाविकको पढाईले आफ्नो भविस्यको यात्रा तय गर्नेछ’ उनले भने । भविस्यमा डाक्टर वा इन्जिनियर मध्य एक विषय रोज्ने बताउँदै सामुदायिक विद्यालयबाट समेत जिल्लाको सम्रग नतिजामा दोस्रो हुदाँ खुसी लागेको बताउँदै आगामी दिनमा थप मेहनत गर्ने बताए । विद्यालयका प्रधानध्यापक अमर बहादुर केसीका छोरा अनुपमले घर र विद्यालयमा अनुकुल वातावरणले सहज भएको बताए ।

यता अनुपमका पिता एवम् विद्यालयका प्रधानध्यापक केसीले घर र विद्यालयमा शैक्षिक वातावरण, जनशक्ती र विद्यार्थीको मेहनतले अपेक्षा गरे अनुसारको नतिजा आएको बताए । उनले विद्यालयले भविस्यमा पनि जिल्लामै उत्कृष्ट नतिजा ल्याउन प्रयास गर्ने बताए । अनुपमको मेहनतले ४ जीपीए ल्याउने सक्ने आधार भएपनि दुईवटा विषयको नतिजा सन्तोषजनक नभएको बताए । जिल्लामा समुदायिक विद्यालयको नतिजा विगतमा भन्दा केही सुधारिएको अनुमान गरिएको छ ।