शनिबार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा बेनी नगरपालिका–८ गणेशटोलीमा अवस्थित लिटल गार्डेन एकेडेमीकी छात्रा अमिषा परियारले ३.९५ जिपिए ल्याएकी छन् । पढाई संगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी परियार जिल्लाभर ३.९५ जिपिए ल्याउने एक्लो विद्यार्थी भएकाले उनलाई म्याग्दी टपको रुपमा सम्मान गरिएको छ ।

बेनी नगरपालिका–१० पात्लेखेत स्थायी घर भएकी परियारलाई सोमबार विद्यालयले बेनीबजार परिक्रममा गरी भब्य सम्मान समेत गरेको छ । परियारले सामाजिक विषयमा बाहेक सबैमा ४ जिपिए ल्याएकी छन् । ‘सोसलमा एउटा प्रश्नमा राम्रो गर्न सकिन्,‘४ जीपिएमा ४ नै ल्याउने मेरो चाहना अधुरो भयो’ परियारले भनिन्।

परिवारको आर्थिक अवस्था कमजोर भएपनि आमाले खेतीपाती र बाबाले खाडी मुलुकमा रोजगारी गरी निजी विद्यालयबाटै शिक्षा लिने वातावरण बनाएको भन्दै परियारले भविस्यमा चिकित्सा शिक्षा अध्ययन गरी देशको सेवा गर्ने बताईन् । ‘मैले विज्ञान विषय लिएर पढ्ने छु,‘आमाबुबाको सपना पनि डाक्टर भएको देख्ने छ’ परियारले भनिन् ।

आर्थिक अवस्था कमजोर भएपनि विद्यालयले निशुल्क शिक्षा सहित अनुकुल वातवरणले समेत सहज भएको उनको भनाई छ । ‘स्कुल भित्रको वातावरण घरमा जस्तै थियो,‘पढाईको रुटीन बाहेक पनि धेरै सिक्ने अवसर मिल्यो’ परियारले भनिन् ।उनले एसईईमा उत्कृष्ट अंक ल्याउन आधारभुत तहबाटै मेहनत गर्नुपर्ने बताईन् । ‘किताबमा भएका ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा पनि मैले निरन्तर समय दिने गरेको थिए,‘त्यसले पनि मलाई नतिजामा सहयोग पुगेको छ’ परियारले भनिन् ।

परिवारकी जेठी छोरी अमिषा जन्मिएको करिव६ महिनामा बाबा भेष बहादुर रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । जन्मदिन बाबासंग राम्रोसंग दिन विताएको समेत उनलाई पत्तो छैन् । आफ्नो शिक्षाका लागि मातापिताको संघर्षको परिणाम स्वरुप एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने परियारले कठोर मेहनत गरेको बताउँछिन् । ‘अब मेरो परिवार जस्तै कमजोर आर्थिक भएकाको सेवा गर्ने गरी पढ्छु’ उनले भनिन् । उनले आफ्नो मात्रै नभई घरवपरिवार, गुरूबर्गको मिहेनतका कारण सफलता हासिल गरेको समेत बताईन् ।

यता परियारकी आमा सितल कुमारीले छोरीको सफलताले खुशीको सीमा नरहेको बताईन् । ‘खाडीमा श्रीमानले गरेको दुख छोरीको सफलताले मेटिएको छ,‘अब ऋणधन गरेर पनि छोरीको सपना पुरा गछौं’ उनले भनिन् । १७ बर्ष अगाडी खाडी मुलुक साउदी अरबमा पुगेका श्रीमानलाई कम्पनीमा समस्या भएकै कारण नेपालमा आउन नपाएको उनले खुलासा गरिन् ।

गतबर्षको माघ महिनामै नेपालमा आउन चाहनुभएको थियोे,‘तलब पनि राम्रो छैन्, कम्पनीले पनि बाहिर आउन दिदैन्’ उनले भनिन् । दुई छोरी एक छोरालाई राम्रो शिक्षा दिने उनले बताईन् । बि.श २०७२ सालमा भुकम्पले घर चर्किएपछि ऋण खोजेर पर्वतको बगरमा सानो घर बनाएपनि श्रीमानको कमाईले बैंकको किस्ता तिर्न समेत मुस्किल भएको बताईन्।

यता विद्यालयका संस्थापक बालकृष्ण सुबेदीले परियारले ४ जिपिए ल्याउने गरी मेहनत गरेपनि असफल भएको बताए । ‘उनी शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट छन्,‘सफल विद्यार्थी हुन उनीबाट सिक्न सकिन्छ’ सुबेदीले भने। उनले शिक्षक, विद्यार्थीको निरन्तरको मेहनत, सिक्ने र सिकाउने वातावरणले समेत विद्यालयका कुल १६ जना विद्यार्थी मध्य १३ जनाले ए प्लस र ३ जनाले ए ल्याउन सफल भएको बताए ।‘स्वतन्त्र रुपमा पढ्ने वातावरणले पनि नजिता राम्रो ल्याएको छ,‘यस्तै नतिजालाई भविस्यमा पनि निरन्तरता दिने प्रयास गर्नेछौ’ सुबेदीले भने ।

यसैबीच जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवतीका अनुपम कटुवाल क्षेत्रीले ३.९० जिपिए ल्याएका छन् । मुक्तिधाम माविका क्षेत्रीले ल्याएको जिपिए सामुदायिक विद्यालयमा सबैभन्दा धेरै र सम्रग जिल्लामा दोस्रो भएको विद्यालयका प्रधानध्यापक अमर कटुवालले बताए । अनुपम प्रअ कटुवालका छोरा हुन् । जिल्लाभर सामुदायिक विद्यालयको नतिजामा सुधार आएको छ । सार्वजनिक भएको जिपिएमा गडबडी भएपछि शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाभरको नतिजा संकलनमा केही समस्या भएको जनाएको छ ।