एसईई परीक्षा: छात्रा तर्फ बेनी सामुदायिकका दुई विद्यार्थीको ३.७० जिपीए

बेनी सामुदायिक माविका दुई छात्राले जिल्लामा सामुदायिक विद्यालयको तर्फबाट ३.७० जिपीए ल्याएका छन् । शनिबार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार विद्यालयका अस्नवी शर्मा र आशिका आचार्यले ल्याएको जीपीए जिल्लामा छात्रा तर्फ सबैभन्दा धेरै भएको बताइएको छ ।

मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले जिल्लाभर सामुदायिक विद्यालय तर्फको नतिजा अनुसार छात्रा तर्फ प्रथम भएको बताए । ‘सबै विद्यालयको नतिजा प्राप्त भइसकेको छ,‘नतिजाबाट उत्साहित छौ’ श्रेष्ठले बेनीअनलाइनलाई भने । विद्यालयमा आयोजित कार्यक्रममा शिक्षा विकास समन्वय इकाईका प्रमुख दल बहादुर थापाले विद्यार्थी र अभिभावकलाई सम्मान समेत गरेका थिए ।

शिक्षक, विद्यार्थीको निरन्तरको मेहनत, सिक्ने र सिकाउने वातावरणले हरेक बर्षको एसईईको नतिजामा विद्यालयले सफलता प्राप्त गर्ने गरेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएका थिए । ३.७० जिपिए ल्याउने विद्यालयमा तीनजना विद्यार्थीले विज्ञान विषय अध्ययन गर्ने बताएका छन् । विद्यालयबाट ७३ विद्यार्थी मध्ये ५१ जना विद्यार्थीले ३ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।

नेपालमै नमुना सामुदायिक विद्यालयको रुपमा चिनिने बेनी सामुदायिकले विद्यार्थीलाई घर देखी विद्यालयसम्मको विद्यार्थीमैत्री वातावरण, अंग्रेजी माध्यमको प्रयोग तथा अतिरिक्त क्रियाकलापमा समेत प्राथमिकता दिने गरेको छ । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने भएकाले पनि हरेक बर्ष अन्य विद्यालयबाट भर्ना हुनेको लर्को लाग्ने गरेको छ । विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले आधारभुत देखी माध्यामिक तहसम्म प्रवेश परिक्षामा उत्र्तिणा हुनुपर्छ ।