बेनी नगरपालिकाको ५३ करोड ८९ लाख बजेट, (पिपिपि) मोडेललाई प्राथमिकता

0
151

बेनी नगरपालिकाले निजी सार्वजनिक साझेदारी (पिपिपि) मोडेललाई प्राथमिकता दिदै ५३ करोड ८९ लाख बराबरको बजेट स्वीकृत गरेको छ । गत असार १० गते तेस्रो नगरसभामा प्रस्तुत गरिएको आव २०७५÷७६ को निति, कार्यक्रम तथा बजेटको अध्ययन तथा सुझाव सहित मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले बजेट पारित गरेको हो ।

बजेट पारित भएपछि आयोजित पत्रकार सम्मेलनमा चालुतर्फ ३७ करोड ६६ लाख, शसर्त अनुदान ३१ करोड ३३ लाख, वित्तिय समानीकरण तर्फ १७ करोड ५१ लाख, पूँजीगततर्फ १६ करोड २३ लाख १३ हजार रहेको छ । नगरपालिकाले आन्तरिक आयमा अनुमानित २ करोड ८३ लाख रहेको छ । नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए । उनका अनुसार गतबर्षको लक्ष्य अनुसार सङ्कलन हुन नसकेको ३० लाखलाई समेत आगामी आर्थिक बर्षमा आम्दानी गरिने छ ।

नगरसभाले आर्थिक विकास समितिमा १ करोड, शुसासन तथा संस्थागत विकास १ करोड ९२ लाख, पूर्वाधार विकास समिति ४ करोड ५० लाख, प्रति वडा ५० लाखको दरले पाँच करोड, समपुरक कोष १ करोड ८१ लाख, बन तथा वातावरण तथा विपद् ब्यवस्थापन समिति ५० लाख र वित्तिय ब्यवस्थापन २५ लाख १३ हजार रहेको छ । नगरसभाले निजी सार्वजनिक साझेदारी (पिपिपि) अवधारणालाई प्राथमिकता दिदैं गौरवका आयोजनामा समेत बजेट विनियोजन गरेको छ ।

गौरवको आयोजनामा रामायण पार्कमा ४२ लाख, खुल्लामञ्च ५५ लाख, लभ हिल ५८ लाख (पिपिपि) मोडल, जगन्नाथ मन्दिर भ्यू टावर ५ लाख, भकिम्लीको स्वार्गाआश्रम ५ लाख,फन पार्क ५ लाख, गुफा राममन्दिर ५ लाख रहेको छ । नगरपालिकाले रामायण पार्कको गतबर्षको बजेटलाई समेत जोडेर करिव १ करोडमा अर्थुङे देखी पुलाचौरसम्म विभिन्न संरचना बनाउने बताइएको छ ।

नगरसभाले थप दुईवटा ऐन पारित गरेको छ । आव २०७५÷७६ का लागि खर्च र विनियोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन, बेनी नगरपालिका अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन समेत पारित गरेको छ । नगरपालिकाले अर्धबार्षिक वडास्तरीय स्वास्थ्य घुम्ती शिविर र यूवाहरुको रुचीको क्षेत्र पहिचानलाई समेत जोड दिएको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख हरिकुमार श्रेष्ठले बजेट कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

उनले नगरपालिका भित्र आवश्यक पर्ने पूर्वाधारलाई प्राथमिकता दिइएकाले कार्यान्वयनमा समेत कुनै कमी हुन नदिने बताए । पत्रकार सम्मेलनमा उपमेयर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषाल, पूर्वाधार विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।