बेनी नगरपालिकाले असार १० गते वडा नम्बर ६ कि जमुना खत्रीको जन्म प्रमाणित गरि राजस्व स्वरूप एक हजार रुपैयाँ लियो।उनका दाजु यामबहादुर खत्रीले राजस्व तिरेको बिल सामाजिक सञ्जालमा हाले। त्यो भाइरल भयो।नगरपालिकामाथि प्रश्न उठ्यो। धेरैले जन्मदर्ताको एक हजार रूपैयाँ लिनु गलत भएको भन्दै आलोचना गरे।

प्रश्न उठेपछि बेनी नगरपालिकाका प्रशासकीय अधिकृत लोकनाथ भुषालले जन्मदर्ता नभइ अंग्रेजीमा त्यसलाई प्रमाणित गरिदिएको एक हजार रुपैयाँ लिने गरेको प्रष्ट पारेका छन्।मंगलबार विज्ञप्ति जारी गर्दै उनले जन्म भएको ३५ दिनभित्र दर्ता गर्न आए नि:शुल्क र त्यसपछि आए ५० रुपैयाँ राजस्व स्वरूप लिने उल्लेख गरेका छन्। विदेश जान लागेका नागरिकको जन्मदर्ता अंग्रेजीमा प्रमाणित गरिदिएबापत एक हजार रुपैयाँ लिने गरेको विज्ञप्तिमा भनिएको छ।

विदेशका लागि जुनसुकै प्रमाणपत्र प्रमाणित गरेबापत एक हजार रुपैयाँ लाग्ने नगरपालिकाको भनाइ छ। यद्यपी अंग्रेजीमा प्रमाणित गरिदिएको एक हजार रुपैयाँ पनि धेरै भएकोले घटाउनुपर्ने माग स्थानीयबासीको छ।

नगरपालिकाले भने प्रथम नगरसभाबाट यो विषय पारित भएर आएकाले अब पनि यही लागू हुने प्रशासकीय अधिकृत भुषालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। ‘नगरसभाले सूचीकृत गरेको दररेट अनुसार नै उक्त वडाले लिएको हो, वैदेशिक प्रयोजन बाहेक अरु घटना दर्ता गर्दा कम राजस्व लिने नीति हाम्रो छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा नबुझिकन टिप्पणी भयो सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नगरपालिका प्रतिबद्ध छ।’

नगरपालिका तथा वडा कार्यालयले सेवा दिएवापत लिने राजस्वकाबारे सेवाग्राहीलाई कुनै पनि जानकारी नगराउने गरेको भन्दै आलोचना भइरहेको छ।नगरपालिका स्रोतका अनुसार जन्मदर्ता प्रमाणित गरिदिएको बेहोरा अंग्रेजीमा अनुवाद गर्नका लागि अरुलाई नै शुल्क तिर्नुपर्ने भएकाले सेवाग्राहीसँग त्यो शुल्क उठाइएको हो।

वडा नम्बर ६ का अध्यक्ष कृष्ण बहादुर बानियाँले सेवा प्रवाह कानून अनुसार भएको बताए। उनले वडाका सेवामा न्यूनतम राजस्व लिने योजना भए पनि प्रथम नगरसभाबाट तोकिएको राजस्व लिनुपर्ने बाध्यता रहेको बताए ।स्वदेश तथा विदेशमा रहेका नगरबासीले प्रमाणित गरिएको शुल्क घटाउन अनुरोध गरेका छन्।