सडक दुर्घटनामा म्याग्दीका दुई शिक्षकले ज्यान गुमाए

0

पोखराको मालेपाटनमा सडक दुर्घटनामा म्याग्दीका दुईजना शिक्षकले ज्यान गुमाएका छन् । मोटरसाईकलमा सवार मंगला गाउँपालिका–४ बरंजा झाँक्रीपानीका २४ बर्षिय धनबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका–४ दानाकी २५ बर्षिया बृन्दा थापा मगरको ज्यान गएको हो ।

विपरित दिशाबाट आएका दुईवटा मोटरसाईकललाई ट्यांकरले ठक्कर दिएको थियो । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरको टायरले किचेर अन्नपूर्ण गापा–७ हिस्तान घराम्दी आधारभुत विद्यालयकी शिक्षक समेत रहेकी थापामगरको घटनास्थलमै र छन्त्यालको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको पोखराका प्रहरी नायव उपरिक्षक रविन्द्र गुरूङले बताए ।

‘अर्को बाईकका चालक घाईते छन्,‘मृतक दुवै एउटै बाईकमा सवार थिए’ गुरूङले भने । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । घाईतेको तत्काल उद्धार गरिएको थियो । मृतक थापामगरको शव गण्डकी अस्पतालको शव गृहमा राखिएको थियो । घरपरिवारको समेत उपस्थितिमा दुवैजनाको पोष्टमार्टम गरी अन्तेष्टी गरिने छ ।

बर्खे विदामा शिक्षक आयोगको तयारीमा थिए
बरंजाको विश्वज्योती आधारभुत विद्यालयका शिक्षक छन्त्याल यसपटक शिक्षक आयोगको तयारीमा ब्यस्त थिए । उनले बर्खे विदानको सदुपयोग गदैं पोखरामा तयारी कक्षाका लागि पुगेका थिए ।आयोगको तयारीमै पोखरा पुगेकी थापामगर समेत नियमित कक्षा लिइरहेकी थिईन् । म्याग्दी बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थी समेत रहेका छन्त्याल र थापा तयारी कक्षामा सहभागि भएर आफ्नो गन्तब्य तर्फ जादै थिए ।

‘दुवैजना साथी हुनुहुन्छ,‘बसाई एउटै क्षेत्रमा भएकाले पनि मोटरसाइकलमा गएको हुनसक्छ’ मृतकका सहकर्मी गणेश केसीले भने । उनले शिक्षण पेशामा रहेका साथीहरुले एकै ठाउँमा तयारी गर्ने योजना बनाएका थिए । धेरैले असारको १५ पछि कक्षा लिन जाने तयारी गरेको अवस्थामा घटनाले स्तब्ध बनाएको बताए । पोखरा र काठमाण्डौमा तयारी कक्षाका लागि जाने योजना बनाएपनि नजिक भएकाले थापा र छन्त्याल संगै अन्य साथीहरुले पनि पोखरा रोजेको उनले बताए ।